काठमाडौं- मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसानलाई मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला टिपेटर बजार पठाउन भ्याइनभ्याइ छ।
जुनार टिप्ने मध्य समय मंसिरदेखि पुस १५ गतेसम्म भएकाले यहाँका जुनार-सुन्तला बगैँचामा किसान, कामदार र व्यापारी तँछाडमछाड गरिरहेका छन्। स्थानीय वरिष्ठ पत्रकार डण्ड गुरुङ भन्छन्, 'जन्मथलोको सुगन्धले पत्रकारिता पेसासँगै कृषि कर्ममा जोडिएको छु। हेर्नुस् त पाखैभरि पहेँलपुर जुनार-सुन्तला! यहाँको बगैँचामा सुनैसुन छ। बोटमा पैसा फलेको छ।'
प्रत्येक वर्ष व्यापारीले किसानको बगैँचाबाटै फल उठाउने भएकाले अहिले त्यस क्षेत्रमा उनीहरूको उल्लेख्य उपस्थिति छ। तीनकन्या बगैँचामा सुनौला रङका जुनार-सुन्तला हाँगै भाँचिने गरी लटरम्म फलेको देखिन्छ। फल थेग्न नसकेर झुलेका हाँगालाई टेको लगाएर अड्याइएको छ।
'पैसा कमाउन विदेश जानुपर्छ, पैसा रुखमा फल्छ र?' भन्नेलाई किसानले गलत साबित गरिदिएको उल्लेख गर्दै लटरम्म जुनार देखाउँदै पत्रकार गुरुङ भन्छन्, 'हेर्नुस् त्यहाँ रुखमै झुप्पाका झुप्पा पैसा फलेको छ।'
गोलञ्जोर-४ तीनकन्या माझकुभिण्डेमा उत्पादित जुनार-सुन्तला गुणस्तरीय र रसिलो भएकाले खरिद गर्ने व्यापारी पैसाको बिटो बोकेर बगैँचामा घुमिरहेका पाइन्छन्। त्यस क्षेत्रका किसानका बगैँचामा न्यूनतम ५० देखि अधिकतम एक हजारसम्म जुनार-सुन्तलाका बोट रहेको पाइएको छ। जुनारबाट राम्रो मूल्य पाएपछि यहाँका किसान हर्षित छन्।
यहाँका जुनार-सुन्तलाको एउटै बोटले किसानलाई वार्षिक रूपमा २५ हजार रुपैयाँसम्मको उत्पादन दिँदै आएको छ। अहिले यहाँ बगैँचाबाट जुनार प्रतिकिलो ५५ रुपैयाँ र सुन्तला प्रतिकिलो १०० रुपैयाँका दरले बिक्री हुँदै आएको छ। बजारमा उपभोक्ता मूल्य भने जुनारको प्रतिकिलो ९० रुपैयाँ र सुन्तलाको प्रतिकिलो १३० रुपैयाँ छ।
पत्रकार गुरुङले भने, 'तपाईंहरू यहाँको बगैँचा घुम्नुस्, प्रत्येक घरका बगैँचामा जुनार र सुन्तला नामको पहेँलपुर सुनैसुन फलेको छ। अहिले व्यापारी तँछाडमछाड गर्दै पैसाको बिटो लिएर बगैँचामा घुमिरहेको देख्नुहुन्छ।' उनले भनेजस्तै बगैँचाका प्रत्येक बोटमै पैसा फलेको छ, जुनार-सुन्तला नोटसँग साटिन तम्तयार भएर झुलेको देखिन्छ। गोलञ्जोरको सातै वडाको महाभारत क्षेत्र हावापानीका हिसाबले जुनार-सुन्तला उत्पादनका लागि उर्वर मानिन्छ।
सरकारी तथ्यांकअनुसार यस पालिकाबाट मात्रै वार्षिक रूपमा करिब ४० करोड रुपैयाँबराबरको जुनार-सुन्तला उत्पादन हुने गरेको छ। पत्रकार गुरुङकै सल्लाह र सुझावमा पालिकाले गत मंसिरको २३ देखि २५ गतेसम्म माझकुभिण्डेमा बृहत् जुनार प्रवर्द्धन मेलासमेत आयोजना गरको थियो। मेलाका अवसरमा बगौँचा पुगेर आफ्नै हातले टिपेर जुनार-सुन्तलाको स्वाद चाख्न तथा बगैँचा अवलोकन गर्न हजारौँ व्यक्ति आन्तरिक कृषि पर्यटकका रूपमा पुगेका थिए।
स्थानीय मौलिक फल जुनारको राष्ट्रिय-अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रसार गर्ने, आर्थिक र पौष्टिक महत्त्वबारे जानकारी गराउने, कृषकलाई सम्मान गर्ने तथा उत्पादन बजारसम्म पुर्याउन सरकारसँग सहज सडकको माग गर्ने उद्देश्यले मेला आयोजना गरिएको थियो। मेलामार्फत देश-विदेशका राष्ट्रिय सञ्चारमाध्यममा समेत गोलञ्जोरको जुनारले स्थान र चर्चा पाएको थियो।
राज्यप्रति स्थानीयवासीको एउटै गुनासो छ- २० वर्षदेखि सडक कालोपत्र होस् भनी उठाएको आवाज कहिले पूरा हुन्छ? पूर्वाधार कार्यालय सिन्धुलीका प्रमुख प्रमुख लक्ष्मीप्रसाद सापकोटा किसानको मागबमोजिम चिल्लो र कालोपत्र सडक भएमा सजिलै बजारसँग जोड्ने र उत्पादित फल समयमै बिक्री गर्न सजिलो हुने बताउँछन्।
जुनार किसानको मागअनुरूप खतियाखर्कबाट बाहुनतिल्पुङ र देउरालीसम्मको सडक प्रदेशिक सरकारको गुरुयोजनामा परेकाले सबैको पहलमा बजेट व्यवस्थापन गर्नुपर्ने आवश्यकता उनी औँल्याउँछन्। बीपी राजमार्गको महाभारत क्षेत्रको खनियाखर्कबाट करिब ३५ किलोमिटर कच्ची सडकको यात्रा गरी पुग्न सकिने माझकुभिण्डेमा पुग्ने जोकोही पाखैभरि लालुपातेझैँ झुलेका जुनार-सुन्तलाका बोट देखेपछि दंग पर्ने गरेका छन्।
पछिल्ला वर्षमा यहाँ व्यावसायिक उत्पादन गरेका जुनार-सुन्तला किसानले हचुवाका आधारमा बोटबाटै मोलतोल गरी व्यापारीलाई बिक्री गर्दै आएका छन्। जुनार र सुन्तलाको फूल फुल्नासाथ व्यापारी टोकनबापतको रकम लिएर किसानका बगैँचामा पुग्ने गरेका छन्। केही वर्षदेखि जुनारमा औँसा, सुडेपुतली र ढुसीलगायत रोग देखिएपछि किसानले जुनारस्रोत तथा अनुसन्धान केन्द्र स्थापनाका लागि माग गरिरहेका छन्।
महाभारत शृंखलाको काखमा पूर्वउत्तर ढल्किएको तीनकन्या क्षेत्रबाट तल सुनकोशी गडतिर र रामेछाप क्षेत्रको भूगोल तथा गौरीशंकरलगायत हिमाल छर्लंग देखिने भएकाले प्राकृतिक दृश्यावलोकनका हिसाबले समेत यो भूभाग महत्त्वपूर्ण मानिन्छ।
कस्तो फल हो जुनार, नाम कसरी रह्यो?
जुनारको इतिहास दुई सय वर्षअघिको छ। जुनारलाई गोलञ्जोरमै उत्पत्ति भएको फल मानिन्छ। यसको इतिहास नेपालको लोपोन्मुख जाति हायु परिवारसँग जोडिएको छ। प्रारम्भमा जुनारका बिरुवा कोसेलीका रूपमा नजिकको गाउँ वितरण गरिएको भन्ने छ।
करेसाबारीमा अनौठो फल फलेपछि स्थानीय हायु परिवारले तत्कालीन राजा-महाराजलाई चखाउन पठाएका थिए। उनीहरूले 'जिउनार' गरेको र मीठो रहेको सुनाएपछि यो फलको नाम 'जुनार' रहन पुगेको विश्वास गरिन्छ। दानेदार रसिलो जुनार भर्खरै जन्मिएको बालकदेखि वृद्धवृद्धासम्म सबै उमेर समूहलाई खुवाउन मिल्ने फल हो। स्थानीय तीनकन्यामै उत्पत्ति भएको मानिएको जुनारको व्यावसायिक खेती भने विसं २०३२ देखि हुँदै आएको छ।
नेपालको मौलिक फलका रूपमा परिचित जुनारखेती जिल्लाको एक हजार ११३ हेक्टरमा फैलिएको गोलञ्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बराल बताउँछन्। जिल्लामा उत्पादन हुने कुल ९० प्रतिशत जुनार गोलञ्जोरमा उत्पादन हुने गरेको छ। यो वर्ष ११ हजार मेट्रिकटन जुनार यसै क्षेत्रबाट उत्पादन हुने अनुमान छ। महाभारत शृंखलाको ७२ किलोमिटर क्षेत्र जुनार-सुन्तला उत्पादनका लागि उपयुक्त मानिन्छ।
अनौपचारिक तथ्यांकअनुसार यस पालिकाबाट मात्रै वार्षिक रूपमा ७५ करोड रुपैयाँबराबरको जुनार-सुन्तला बिक्री हुने गरेको छ। जुनार उत्पादन सहकारी संघ सिन्धुलीका अध्यक्ष निर्मल रम्तेल भन्छन्, 'स्वादिला र गुणस्तरीय भएकाले होला, व्यापारीहरू पैसाको बिटो लिई बगैँचामै आएर जुनार किन्न व्यापारी तँछाडमछाड गर्छन्। त्यसैले भनिएको हो, यहाँको रुखमै पैसा फल्छ।' यस पालिकाका सातवटै वडामा जुनारखेती छ।
साथै जिल्लाका अरू गाँउपालिका कमलामाई, सुनकोशी, तीनपाटन, हरिहरपुरगढीमा पनि पछिल्लो समय जुनारखेती विस्तार हुँदै गएको छ। गोलञ्जोरको एउटा मौलिक फल जिल्लाकै पहिचान बनेको प्रतिक्रिया दिँदै गाउँपालिका अध्यक्ष बराल भन्छन्, 'जिल्लाभरमा यसको एक अर्ब रुपैयाँभन्दा बढीको व्यापार छ। धेरैले रोजगारी पाएका छन्। अघिल्ला वर्षमा औँशा र सुडेपुतलीले दुःख दिएकामा अहिले त्यो नियन्त्रण हुँदै गएको छ। यद्यपि हरेक वर्ष रोगकीराबाट फललाई जोगाउन सजग र सचेत रहनुपर्ने देखिन्छ।'
सिन्धुलीमा उत्पादित जुनारको बजार पूर्वमा काँकरभिट्टादेखि पश्चिममा पोखरा र बुटवलसम्म छ। बीपी राजमार्ग भएर पूर्व-पश्चिम यात्रा गर्ने जोकोहीको झोलामा कोसेलीका रूपमा जुनार रहने गरेको छ। सिन्धुलीमाढी, खनियाखर्क र खुर्काेट बजारमा हार मिलाएर बिक्रीका लागि राखिएका जुनारका थुप्राले यात्रुको ध्यान खिच्ने गरेको छ।
अहिले गाउँमा मात्र होइन, सहरबजारका हरेक फलफूल पसलमा जुनार राखिने गरिएको छ। सुन्तला र एभोकाडोको तुलनामा निकै सस्तो जुनार अत्यधिक रसिलो फल हो।
जुनारबाट जुस, स्क्वास, जाम, जेली, मार्मालेड, क्याण्डीजस्ता विभिन्न परिकार बनाउन सकिन्छ। त्यस्तै जुनार बगैँचामा अन्तर बालीका रूपमा भटमास, सिमी, अदुवा, दाल, बेसार र कफीखेती अघि बढाइएको छ। यसबाट किसान निकै लाभान्वित भएका छन्। नयाँ बालीका रूपमा यस क्षेत्रमा एभोकाडो र अम्बा पनि किसानले भित्र्याएको देखिन्छ।
गाउँपालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने भन्छन्, 'जुनार-सुन्तलाखेतीका लागि यहाँको हावापानी उपयुक्त छ, उत्पादित फल निकै मीठो छ।' यस क्षेत्रमा उत्पादित जुनार-सुन्तलालाई सहज रूपमा बजारसम्म पुर्याउन तथा यसको महत्त्वबारे राष्ट्रिय-अन्तर्राष्ट्रिय रूपमा परिचित गराउने अभियानमा जनप्रतिनिधिहरू जुटिरहेको उनी बताउछन्।
भर्खरै जन्मिएको शिशुदेखि १०० वर्षसम्मका वृद्धलाई पनि जुनारका रख खुवाउँदा कुनै असर गर्दैन। बरु हुर्कन र ताकत प्राप्त हुन्छ। त्यसैले पनि जुनारको माग र महत्त्व बढेको छ। तर, यति हुँदाहुुँदै पनि किसानको रोजाइमा भने जुनारको तुलनामा सुन्तला नै रहेको पाइन्छ।
सुन्तला सर्लक छोडार खान सजिलो हुन्छ। रोग कीराको संक्रमण जुनारको दाँचोमा सुन्तलामा कम हुन्छ। स्थानीय गुणबहादुर ठकुरीका अनुसार सुन्तला एक गाडी लिएर बेच्न निस्कियो भने डेढ लाख रुपैयाँ कमाइन्छ भने सोही परिणामको जुनार बेच्दा ५० हजार रुपैयाँ मात्र हुन्छ।
तथापि, जुनार नेपालकै मौलिक फल रहेकाले यसको प्रचारप्रसार गरी किसानलाई बजारको पहुँच सहजताका लागि सरकारले कालोपत्रे कृषि सडक बनाइ दिनुपर्ने उनको भनाइ थियो। उनका अनुसार उपयुक्त हावापानी भएकाले नेपाल र नेपालीका लागि आम्दानीको राम्रो स्रोत जुनार-सुन्तलाभन्दा राम्रो अरू केही छैन। पैसा कमाउन युवापुस्ता बाहिर जान पर्दैन। यही स्रोत राम्रो छ।
विसं २०३५ देखि व्यावसायिक जुनारखेती गर्दै आएका ठकुरीको हाल ६०० बोट जुनार सुन्तला छ। उनको वार्षिक कमाइ हाल ३० लाख रुपैयाँसम्म हुँदै आएको छ। पछिल्लो समय रामेछाप, ओखलढुंगा, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखालगायत जिल्लामा पनि जुनारखेती व्यावसायिक रूपमा अघि बढिरहेको छ।
जुनारखेती विस्तार र प्रवर्द्धन गर्न सरकारले कालोपत्र सडक, मेला र महोत्सव गर्नुपर्ने व्यावसायिक खेती गर्दै आएका किसानको भनाइ छ। हुन पनि बजार व्यवस्थापन, सहज पहुँच र प्रचारप्रसार गर्न सके रसिलो, पोषिलो अनि स्वादिलो नेपालकै स्थानीय मौलिक फल जुनारले अरु फलफूलसँग प्रतिस्पर्धा गर्न पर्दैन।
सिन्धुली जुनार संघका अध्यक्ष कर्णबहादुर आलेमगर हावापानीका कारण धेरै गुणस्तरीय फल उत्पादनको सम्भावना रहेको बताउँछन्। यद्यपि, कृषक गुणबहादुर ठकुरीका अनुसार माझकुभिण्डे आम्दानीको हिसाबले धेरै फल्ने, छिटो बिक्री हुने, पैसा पनि धेरै आउने भएकाले सुन्तलाप्रतिको मोह बढ्दो छ। रासस
