बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

म्याग्दीको सदरमुकाम बेनी बजार जोड्ने पखेर-बरङ्जा सडक योजना अन्तिम चरणमा

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, पुस १२ २०८२
म्याग्दीको सदरमुकाम बेनी बजार जोड्ने पखेर-बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी- म्याग्दीको मंगला गाउँपालिका-३ र ४ नम्बर वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर-बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्माण अन्तिम चरणमा पुगेको छ। 

गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत मंगला गाउँपालिका-३ पखेरदेखि तीन किलोमिटर ५०० मिटर दूरीमा सडक ग्राभेल र ढलान गर्न आर्थिक वर्ष २०८०/८१ देखि पखेर-बरङ्जा ३ र ४ हुँदै महेश-धापुङ-ताराखोला सडक योजना निर्माण सुरु गरेको थियो। 

एनके-युनाइटेड जेभीले विसं २०८१ असारमा ५ करोड ८६ लाख ३ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको योजनाको ९२ प्रतिशत भौतिक र ८५ प्रतिशत वित्तीय प्रगति भएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा महेन्द्र बानियाँले जानकारी दिए। 

'१८ महिनाको ठेक्का अवधि भएको यो योजनालाई निर्धारित समयभित्र नै सम्पन्न गर्ने लक्ष्यसहित ठेकेदारले उपकरण, मजदुर परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेको छ,' उनले भने, 'आर्थिक वर्ष २०८०/८१ देखि म्याग्दीमा सुरु भएका सातवटा सडक र दुईवटा मोटरेबल पुलमध्ये पखेर-बरङ्जा सडकको प्रगति अन्य योजनाको तुलनामा अगाडि छ।'

विसं २०६६ मा मार्ग खुलेको यो सडकलाई सात मिटरका दरले फराकिलो बनाएर नाली र टेवा पर्खाल निर्माण भएको छ। घुम्ती र उकालोमा ५५० मिटर सडक ढलान भएको छ। ग्राभेल भएको सडकको बर्खामा भत्किएको पर्खाल पुनर्निर्माण र बाँकी संरचना निर्माणलाई पूर्णता दिन लागिएको छ। ग्रेड र घुम्ती सुधार भएको छ।

खर्कटोलका बासिन्दा मिलन रोकाका अनुसार यसअघि तीनदेखि तीन दशमलव पाँच मिटर फराकिलो कच्ची सडकको घुम्ती, ग्रेड नमिलेको, साँघुरो सडक जोखिमयुक्त थियो। 'यसअघि जीप, ट्याक्सी र ट्र्याक्टर मुस्किलले चल्ने यो सडकमा अहिले दश चक्के ट्रक गाउँमै आउन थालेका छन,' उनले भने, 'बरङ्जादेखि बेनी पुग्न एक घण्टा लाग्ने गरेकोमा सडक स्तरोन्नति भएपछि यात्रा अवधि ३० मिनेटमा छोटिएको छ।' 

भिरालो पाखाको घुम्तीमा गाडी पार गराउन पछाडि लैजानुपर्ने समस्या हटेको छ। बरङ्जामा उत्पादन भएको दूध, सुन्तला, तरकारीलगायत कृषि उपज बजारमा बिक्रीका लागि लैजान सहज भएको छ। बरङ्जादेखि थामडाँडा-सुर्केमेला हुँदै बेनी जोड्ने घुमाउरो कच्ची सडकमा यात्रा गर्नुपर्ने अवस्था हटेको रोकाले बताए। 

मार्ग खुलेको १७ वर्षपछि सडक स्तरोन्नति भएकोमा बरङ्जाबासी उत्साही भएका सडक निर्माण समितिका तत्कालीन अध्यक्ष मोहनलाल सापकोटाले बताए। 'अप्ठ्यारो ठाउँको खण्डमा अहिले सडक सहज भएकोमा खुसी छौँ,' उनले भने, 'पखेरदेखि झाँक्रीपानीसम्मको सबै ११ किलोमिटर सडकलाई स्तरोन्नति गर्न सकेमा अझै सहज हुने थियो।'

सडक निर्माण कार्यको शुक्रबार अनुगमनका लागि बरङ्जा पुगेका म्याग्दी १ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीलाई स्थानीयबासीले ग्राभेल भएको सडकलाई पक्की बनाउन, झाँक्रीपानी र बुकेनी, धापुङ हुँदै ताराखोलाको सिर्पुतर्फ स्तरोन्नतिको योजनाका लागि पहल गर्न आग्रह गरेका थिए। 

स्थानीयबासीसमेत रहेका संविधानसभा सदस्य गमबहादुर श्रीस, कार्यवाहक वडा अध्यक्ष भेषकुमारी पुनलगायतले सडक स्तरोन्नति योजनालाई निरन्तरताका लागि पहल गर्न प्रस्ताव गरेका थिए। विसं २०८० मा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको नेतृत्व गरेका पूर्वमन्त्री जुग्जालीले प्रदेश सरकारबाट १० करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चत गराएपछि  बहुवर्षीय ठेक्का लगाइएको थियो। 

'चालु आर्थिक वर्षमा १ करोड ३९ लाख रुपैयाँ बजेट विनियोजन भएको यस योजनाका लागि आवश्यक पर्ने थप बजेट व्यवस्थापनका लागि सरकारसँग पहल भइरहेको छ,' जुग्जालीले भने, 'मंगला गाउँपालिकाको ३, ४, ५ नम्बर वडा र बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने यो सडक योजनाको निरन्तरताका लागि पनि प्रयास गरेका छौँ।' 

बरङ्जा म्याग्दीको धेरै जनघनत्व भएको साविकको गाविस हो। रासस


प्रकाशित : शनिबार, पुस १२ २०८२१२:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend