काठमाडौं- हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सिमानामा पर्ने कमला नदीमा निर्माणाधीन बहुचर्चित कमला पुलको बाँकी काम भइरहेको छ।
ठेक्का सम्झौता भएको १४ वर्ष बित्दासमेत निर्माण हुन नसकेको यो पुल आगामी चैतभित्र निर्माण सम्पन्न गरेर यातायात सञ्चालन गर्ने गरी अहिले निर्माणको काम धमाधम भइरहेको हो। निर्माण व्यवयासीले नै पुलको डिजाइन गरी निर्माण गर्ने मोडलमा ठेक्का सम्झौता भएको कमला पुलको लम्बाइ ४६९ मिटर छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले गत ५ मंसिरमा स्थलगत अनुगमन गरी पुल निर्माण तथा पुनर्स्थापनाको काम तत्काल अघि बढाएर जतिसक्दो छिटो पुल निर्माण सम्पन्न गर्न निर्देशन दिएका थिए। मन्त्री घिसिङले निर्माणको आफूले नियमित अनुमगन गर्ने र काम सन्तोषजनक नभएमा ठेक्का तोड्ने चेतावनी दिएका थिए।
साथै उनले हाल नदी रहेको स्थानमा ह्युमपाइप राखेर अस्थायी रूपमा आवतजावतको व्यवस्था गर्न निर्देशन दिएका थिए। सोहीबमोजिम ठेक्का व्यवस्थापन भई पाइप राख्ने काम पनि भइरहेको छ।
ठेक्का सम्झौता भएको करिब १४ वर्ष पुग्दासमेत कमला पुल निर्माण हुन सकेको छैन। पुल नबन्दा नागरिकले सास्ती खेप्नु परेको, सवारीसाधन लामो रुट प्रयोग गरी आवतजावत गर्न बाध्य भएको र कमला नदी वारपार गर्न जोखिमपूर्ण एवं कष्ठकर यात्रा गर्नु परेको स्थानयीको गुनासो छ।
२०७८ असार १७ मा कमला नदीमा आएको बाढीले पुलको दुईवटा जग भासिएर ४ वटा स्ल्याबमा क्षति पुगेको थियो। क्षति पुगेका स्ल्याबमध्ये सिरहा (पूर्व) तर्फको दुईवटा स्ल्याब हटाइएको छ भने धनुषा (पश्चिम) पट्टिको दुईवटा स्ल्याब हटाउन नपर्ने प्राविधिक अध्ययनबाट देखिएको छ।
सोहीबमोजिम भासिएको जगलाई दह्रो बनाएर स्ल्याब लिफ्टिङको काम अब सुरु हुनेछ। लिफ्टिङका लागि सम्बन्धित विज्ञ प्राविधिकहरूले भ्रमण तथा निरीक्षण गरी कार्ययोजना बनाइरहेका छन्।
पुलको पूर्वतर्फ (सिरहा) को सबस्ट्रक्चरको काम सकिएको छ। सिरहातर्फका दुईवटा स्ल्याब हटाई एउटा जग भासिएकोमा उक्त स्थानमा दुईवटा जग राखी जगसहित सब स्ट्रक्चरको काम सकिएको छ। अब प्लेट गडर राख्न बाँकी छ। उक्त प्लेट गडर बनाउने काम चितवनमा भइरहेको छ। गडर तयार भएपछि पुलमा लगेर जडान गरिनेछ।
ठेक्काअन्तर्गत रहेका नदी नियन्त्रण तथा पहुँच सडकको निर्माण भने सुरु हुन सकेको छैन। गत असोजमा कमला नदीमा आएको बाढीपछि नदीको धार परिवर्तन भएकाले डिजाइनको विषयमा छलफल भइरहेको र डिजाइनको टुंगो लागेपछि निर्माण सुरु हुने बताइएको छ।
तराई/मधेशको लाइफ लाइनका रूपमा रहेको हुलाकी राजमार्गमा पर्ने कमला पुल निर्माणका लागि २०६८ को जेठमा २४ करोड ९१ लाख रुपैयाँ (भ्याटसहित) मा पप्पु लुम्बिनी जेभीसँग ठेक्का सम्झौता भएको थियो। सुरुको सम्झौताबमोजिम पुल निर्माण २०७१ को मंसिरमा सम्पन्न हुनुपर्ने थियो।
तोकिएको समयमा पुल निर्माण हुन नसकेपछि सातौँपटक थपिएको ठेक्का सम्झौताको म्याद गत असारमा सकिएको थियो। निर्माण व्यवसायीबाट आगामी असारसम्मका लागि म्याद थपका लागि प्रस्ताव पेश भएको छ। हाल ठेक्काको म्याद थपको प्रक्रियामा छ। हाल बाँकी काम लुम्बिनीले गरिरहेको छ। हालसम्म २० करोड ४३ लाख रुपैयाँ (भ्याटसहित) भुक्तानी भइसकेको छ।
