काठमाडौं- जनताको आकांक्षा पूरा गर्नका लागि राजनीतिक दलमा सुधार, सबल र बलियो सरकार नै अबको मार्गचित्र हुनुपर्ने नेताहरूले बताएका छन्।
आईआईडीएसले आयोजना गरेको पोलिसी कन्क्लेभमा बोल्ने राजनीतिक प्रतिनिधिहरूले अबको राजनीतिक शक्तिदेखि शक्तिसम्म नभइ विकास र सुशासनमा केन्द्रीत हुनुपर्ने बताएका हुन्।
ऐतिहासिक रुपमा ४ प्रतिशतको तुच्छ आर्थिक वृद्धिदरलाई बोकेर हिँडेको नेपालमा न्यून रोजगारी, कमसल सार्वजनिक सेवा र प्रशासन, कुशासनका कारणले गर्दा जनतामा असन्तुष्टि बढ्दै गएको र त्यही कारणले भदौ २३ गतेको विद्रोह भएको भन्दै उनीहरूले अब यस्ता विद्रोह हुन नदिनका लागि राजनीतिक दलदेखि नै सुधार हुनुपर्ने बताएका हुन्।
रोजगार, समानतासहितको दिगो आर्थिक विकासबाट सम्मानित जीविकाको ग्यारेन्टी हुनेगरी राज्य सञ्चालन हुनुपर्ने र यसका लागि भिजनरी नेतृत्व, सबल प्रशासन आवश्यक रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लले बताए।
भिजन भएको नेतृत्वमा सरकार बन्ने र त्यसले नीतिगत सुधार र संरचनागत परिवर्तन गरेर मुलुकलाई स्थिर आर्थिक अवस्था भएको सन्देश दिएर पुँजीको विवेकशील परिचालन गर्ने हो भने एउटा सही वातावरण निर्माण हुने उनको भनाइ छ। तर यसका लागि उत्तरदायी राजनीति, प्रतिस्पर्धी जनप्रशासन हुनुपर्ने उनले बताए।
भिजनरी नेतृत्वले नै संस्थाहरूको निर्माण, सेवाको गुणस्तरीय प्रवाह र सुशासनको ग्यारेन्टी गर्नसक्ने उनको भनाइ छ।
त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले नेपालमा सबैभन्दा ठूलो संकट व्यवस्थापन भएको बताउँछन्। व्यवस्थापनका लागि संयन्त्रको सबलीकरण आवश्यक भएको उनले बताए।
राजनीतिक नेतृत्वमा शक्ति आर्जनका लागि सत्तामा जाने होडबाजी भएपनि विकास र सुशासनका लागि केही पनि भिजन नदेखिएको उनको भनाइ छ। अबको नेतृत्वले पनि त्यही गल्ती दोहोर्याउन नहुने उनको भनाइ छ।
कर्मचारीतन्त्रको सुदृढीकरण, राजनीतिक दलमा सुधार भएपछिमात्र अरु व्यवस्थापन हुने उनको भनाइ छ।
त्यस्तै नेकपा एमालेका नेता सुरेन्द्र पाण्डे पनि कर्मचारीतन्त्रको सुधारलाई प्राथमिकता राख्नुपर्ने बताउँछन्। तर त्यसभन्दा पहिले शासकीय केन्द्रमा बस्ने राजनीतिक दललाई सुधार गर्न कानूनी बाध्यतामा राख्नुपर्ने उनको भनाइ छ।
कुनै एउटा व्यक्तिले दल कब्जा गर्ने र उसको निगाहमा पूरै संसद चल्ने अहिलेको अवस्थालाई अन्त्य गर्न कार्यकर्ताबाट अनुमोदित मान्छे संसदको उम्मेद्वार हुनुपर्ने र दलीय नेतृत्वमा पनि क्याप लगाउनुपर्ने उनको भनाइ छ।
त्यस्तै कानूनी र संवैधानिक सुधार गरेर कार्यकारी शक्तिलाई बलियो बनाउनुको विकल्प नभएको उनको भनाइ छ। अहिलेको समयमा जननिर्वाचितभन्दा पनि गैरनिर्वाचित निकायको हस्तक्षेप धेरै भएकाले यसले राम्रो नगर्ने उनको भनाइ छ।
युवा राजनीतिक कार्यकर्ता सागर ढकालले सबैभन्दा पहिला अब नेतृत्वमा सुधार गर्नुपर्ने त्यसका लागि उत्तदरदायी नेतृत्व र व्यवस्था हुनुपर्ने उनले बताए। त्यस्तै नेपालका विश्वविद्यालय र संस्थाहरूलाई बलिया र प्रतिस्पर्धी नबनाइ मुलुकको विकास नहुने उनको भनाइ छ।