मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

'सुविधाजनक सन्तुष्टिको दुश्चक्रमा मुलुक, जोखिम लिने नेतृत्वको सधैँ अभाव'

शुक्रबार, पुस ११ २०८२
'सुविधाजनक सन्तुष्टिको दुश्चक्रमा मुलुक, जोखिम लिने नेतृत्वको सधैँ अभाव'

वृहत युवा बहिर्गमनमा टिकेको स्थायित्व, रेमिट्यान्सले धानेको बाह्य स्थायित्व, फर्जी र हावादारी समृद्धिको सपना साथै अपरिपक्क पुँजीकरणका कारणले गर्दा मुलुक सुविधाजनक सन्तुष्टिको चक्रब्यूहमा फसेको छ।

काठमाडौं- ऐतिहासिक रुपमै न्यून आर्थिक वृद्धिदरबाट गुज्रिएको र त्यसमा पनि रोजगारी सिर्जनाबिनाको वृद्धिदरको बिडम्बना भोगिरहेको नेपाली अर्थराजनीति सुविधाजनक सन्तुष्टिको अवस्थाले दुश्चक्रमा फसेको अर्थशास्त्री डा. विश्वास गौचनले बताएका छन्।

इन्सिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट(आईआईडीएस)ले आयोजना गरेको वार्षीक पोलिसी कन्क्लेभमा आफ्नो प्रस्तुति दिँदै मुलुकको नीति निर्माण नै यस्तो दुश्चक्रमा फसेको गौचनले बताएका हुन्।

आईआईडीएसका कार्यकारी निर्देशकसमेत रहेका गौचनले सुविधाजनक पोजिसिनकै निरन्तरतामा रमाउने र कुनै पनि जोखिम नलिने प्रवृत्तिबाट नीति निर्माण अघि बढेको बताएका हुन्। राजनीति, प्रशासन तथा निजी क्षेत्र पनि भएकै कुरालाई अघि बढाउने र त्यसको मेन्टेनमै रमाउँदा वृद्धिदरले गति लिन नसकेको उनको भनाइ छ।

ऐतिहासिक रुपमै चार प्रतिशतको औसत आर्थिक वृद्धिदरबाट गुज्रिएको मुलुकमा रोजगारी सिर्जनाभन्दा पनि विदेश पठाउने, घरजग्गामा लगानी गरेनर नाफा आर्जन गर्ने र आयात गरेर उपभोग गर्ने प्रवृत्तिमा रमाउँदा सम्पत्ति सिर्जना, नयाँ रोजगारी र आर्थिक वृद्धिदर राम्रो हुन नसक्दा पनि शासकीय तहबाट कुनै पनि अग्रसरता नदेखिनु नै यस्तो ट्र्यापको संकेत भएको उनको भनाइ छ।

'कम्प्लेसेन्सी ट्राप'को यस्तो अवस्थामा अहिले भइरहेका काम ठीकै छ भनेर ढुक्क हुँदा सुधार, मेहनत र नवप्रयास रोकिने स्थिति हो।

कसैलाई पनि कहिल्यै सुधारको आवश्यकता महसुस नहुनुको परिणाम अर्थतन्त्रले अहिले भोगिरहेको उनको भनाइ छ। लठ्ठिएका राजनीतिक कार्यकर्ताले उत्तरदायित्वलाई इन्कार गर्ने राजनीतिक संस्कार, वृहत युवा बहिर्गमनमा टिकेको स्थायित्व, रेमिट्यान्सले धानेको बाह्य स्थायित्व, फर्जी र हावादारी समृद्धिको सपना साथै अपरिपक्क पुँजीकरणका कारणले गर्दा मुलुक ‘सुविधाजनक सन्तुष्टिको चक्रब्यूहमा फसकेको उनको भनाइ छ।

राजनीतिक रुपमा सामाजिक तहसम्म कार्यकर्ताको पंक्तिले घेरोको राजनीतिक नेतृत्व सधैँ उत्तरदायित्वबाट भाग्ने गरेको छ। यस्तो अवस्थामा कुनै पनि सुधार नगर्दा पनि उत्तर दिन नपर्ने भएपछि निरन्तरतामै रमाउने र कमसल पूर्वाधार, कमजोर आर्थिक वृद्धिको निरन्तरता भएको छ। यस्तोमा प्रशासनले पनि यस्तै अवस्थालाई साथ र सहयोग गर्दै आएको छ।

आन्तरिक रोजगारी सिर्जना नभएपछि वृहत बाह्य बसाइसराइ हुँदा मुलुकमा अमनचयन जस्तो देखिएको र विदेशबाट रेमिट्यान्स आउँदा अर्थतन्त्रको बाह्य अवस्था सुदृढ जस्तो देखिने गरेको छ। प्रत्येक संकटपछि व्यापक सुधारको नारा लगाएपनि फेरि सुविधा हुनेवित्तिकै अर्को संकटको पर्खाइ हुने गरेको छ।

जनता र मुलुकलाई हवादारी समृद्धिको सपना देखाएर राज्य नै गलत बाटोमा अघि बढेको छ। कहिलै पूरा नहुने सपना देखाएर जनतालाई लठ्ठ पार्ने प्रवृत्ति देखिएको छ। यही कारणले गर्दा अब अर्थतन्त्रमा डिपार्चर गर्ने हो भने सुविधाजनक सन्तुष्टिको दुश्चक्रबाट बाहिर निस्किनुपर्ने गौचनको भनाइ छ।

ज्ञान, डिग्री अनुभव, स्रोत जति भएपनि आविष्कार र नयाँपनको अभाव नेपाली शासनमा देखिँदै आएकाले नेपाल सुहाउँदो विकासको मोडल तय गरेर अहिलेको दुश्चक्र तोड्नुपर्ने गौचनको भनाइ छ।


प्रकाशित : शुक्रबार, पुस ११ २०८२१२:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend