काठमाडौं- नेपाली बजारमा आज शुक्रबार सुन र चाँदी दुवैको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ।
बिहीबार प्रतितोला २ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज शुक्रबार २ लाख ६९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। जुन हालसम्मकै उच्च मूल्य हो। यसअघिको उच्च मूल्य गएको बुधबार २ लाख ६८ हजार १ सय रुपैयाँ थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार चाँदी ४ हजार ५ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो। चाँदीमा यसअघिको उच्च मूल्य गएको बुधबार प्रतितोला ४ हजार ४ सय २० रुपैयाँ थियो।
बढ्दै गएको भूराजनीतिक तनाव, अमेरिकी ब्याजदर थप कटौती हुने अपेक्षा र वित्तीय बजारमा छिटोछिटो भइरहेको परिवर्तनका कारण सुनको मूल्य निरन्तर बढिरहेको छ।
पछिल्लो समय संसारका धेरै मुलुककले अमेरिकी डलरप्रतिको विश्वसनीयतामा पनि प्रश्न उठाउन थालेका छन्। डलरप्रतिको अविश्वासले गर्दा धेरै केन्द्रीय बैंकले सुनको खरिद बढाउन थालेका छन्।
नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ निर्धारण गरिन्छ। अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन राति १२ बजे कायम भएको प्रतिऔँस सुनको मूल्य भोलिपल्ट भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर मूल्य तय गरिन्छ।
अन्तर्राष्ट्रिय बजारमा आज शुक्रबार एक औँस सुन ४ हजार ५ सय र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।


