मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

गैरकानूनी सुन नबिक्ने अवस्था बनेसँगै औपचारिक च्यानलबाट आयात झन्डै तीन गुणा बढ्यो

शुक्रबार, पुस ११ २०८२
गैरकानूनी सुन नबिक्ने अवस्था बनेसँगै औपचारिक च्यानलबाट आयात झन्डै तीन गुणा बढ्यो

मुलुक ग्रे लिस्टमा परेपछि सुन कारोबारमा कडाइ गरिँदा गैरकानूनी रूपमा भित्रिने सुन बजारमा बिक्री हुन नसक्ने अवस्था सिर्जना भएको छ। त्यसको प्रभावस्वरूप औपचारिक च्यानलबाट सुन आयात बढेको देखिएको छ।

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ऐतिहासिक उच्च विन्दुमा पुगेको अवस्थामा पनि चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महीनामा नेपालमा सुनको औपचारिक आयात उल्लेख्य रूपमा बढेको छ।

मुलुक ग्रे लिस्टमा परेपछि सुन कारोबारमा कडाइ गरिँदा गैरकानूनी रूपमा भित्रिने सुन बजारमा बिक्री हुन नसक्ने अवस्था सिर्जना भएको छ। त्यसको प्रभावस्वरूप औपचारिक च्यानलबाट सुन आयात बढेको देखिएको छ। 

बिहीबर छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार ५०० रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मानिएको बुधबरको मूल्य प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँभन्दा केही कम हो। नेपालमा सुनको मूल्य अन्तर्राष्ट्रिय बजारको उतारचढावअनुसार निर्धारण हुने गर्दछ। मूल्य उच्च हुँदा बजारमा माग घट्ने व्यवसायीहरूको सामान्य बुझाइ रहँदै आएको भए पनि आयातको तथ्यांकले भने फरक तस्वीर देखाएको छ।

भन्सार विभागका अनुसार चालु आवका साउन, भदौ, असोज, कात्तिक र मंसिर महीनामा कुल १६ अर्ब ३४ करोड रुपैयाँ बराबरको ९ लाख ४४ हजार ग्राम (९४४ किलो) सुन आयात भएको छ। गत आवको यही अवधिमा ३ अर्ब ३५ करोड रुपैयाँ बराबरको ३ लाख ३ हजार ग्राम (३०३ किलो) सुन मात्र आयात भएको थियो। यस अवधिमा परिमाणात्मक रूपमा करिब तीन गुणा र मूल्यगत रूपमा झन्डै पाँच गुणा वृद्धि देखिएको छ।

सरकारले गत आवको मङ्सिरमा सुन आयातमा लाग्ने भन्सार महशुल २० प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गरेको थियो। अत्यधिक भन्सार महशुलका कारण अघिल्लो अवधिमा औपचारिक आयात घट्दै गएको र अनौपचारिक कारोबार बढेको व्यवसायीहरूको गुनासो रहँदै आएको थियो। भन्सार दर घटेसँगै बैंक तथा आधिकारिक निकायमार्फत आयात बढ्नु स्वाभाविक भएको उनीहरूको भनाइ छ।

नेपाल बैंकर्स संघका अनुसार तिहारको समयमा बजारमा माग बढ्ने अपेक्षासहित व्यवसायीहरूको आग्रहमा तिहार शुरू हुनुभन्दा केही दिनअघि बैंकहरूले करिब २०० किलो सुन आयात गरेका थिए। बैंकिङ क्षेत्रका एक अधिकारीका अनुसार पछिल्लो समय अनौपचारिक च्यानलमार्फत सुन ल्याउन कठिन बन्दै गएको छ। ‘ग्रे लिस्टपछि सुन कारोबारमा कडाइ गरिएको छ। गैरकानूनी रूपमा भित्रिएको सुन बजारमा बिक्री हुन नसक्ने अवस्था बनेको छ,’ एक बैंकर्सले भने, ‘यसैले व्यवसायीहरू औपचारिक च्यानलमार्फत आयात गर्न बाध्य भएका छन्।’

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्ला वर्षहरूमा अनौपचारिक च्यानलबाट ठूलो परिमाणमा सुन आउने गरेकाले औपचारिक आयात कम देखिन्थ्यो। अहिले अवैध कारोबार घट्दा तथ्यांकमा औपचारिक आयातको परिमाण उल्लेख्य रूपमा बढेको देखिएको हो। ‘भारतीयसहित अन्य च्यानलबाट हुने अवैध कारोबार घट्नु पनि अहिले आयात बढ्नुको प्रमुख कारण हो,’ ती बैंकर्सले भने।

मूल्य उच्च रहे पनि कारोबारको प्रकृति औपचारिक बन्दै जानु, नियमन कडा हुनु र जोखिम बढ्नुले सुन आयातको संरचना परिवर्तन भएको संकेत गर्दछ।


प्रकाशित : शुक्रबार, पुस ११ २०८२०८:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend