काठमाडौं- शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि संग्रहालयमा परिणत गरियो। २०६५ असार १ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विधिवत रूपमा नारायणहिटी दरबार संग्रहालयको रूपमा उद्घाटन गरे पनि फागुन १५ देखि सर्वसाधारणका लागि खुला गरिएको थियो।
स्थापनाको १७ वर्षमा सो संग्रहालय ४७ लाख ७७ हजार ७ सय स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गरेका छन्।
स्थापनादेखि गत मंसिर मसान्तसम्म उक्त संख्याका पर्यटकले संग्रहालय अवलोकन गरेका हुन्। गत आर्थिक वर्ष २०८१/८२ मा २ लाख ६० हजारले नारायणहिटी दरबार संग्रहालयको अवलोकन गरेकामा चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि मंसिर मसान्तसम्म ४६ हजार ७ सय जनाले अवलोकन गरेको नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका सूचना अधिकारी पुरुषोत्तम थापाले जानकारी दिए।
सरकारले नारायणहिटी संग्रहालय प्रवेशका लागि विद्यार्थीलाई ५० रुपैयाँ, नेपालीलाई २ सय रुपैयाँ, सार्क राष्ट्रका नागरिकलाई ५ सय रुपैयाँ र विदेशी नागरिकलाई १ हजार रुपैयाँ शुल्क लिँदै आएको छ।
उक्त संग्रहालय हप्ताको प्रत्येक मंगलबार र बुधबार बन्द रहँदै आएको छ भने शनिबार र अन्य बिदाका दिनमा भने खुला रहँदै आएको छ। रासस
