सिरहा- अर्थमन्त्री रामेश्वर खनालले आगामी फागुन २१ मा तय भएको प्रतिनिधिसभाको निर्वाचनपछि देशको अर्थतन्त्र लयमा फर्किने बताएका छन्।
मन्त्री खनालले निर्वाचन निर्धारित मितिमै हुने दाबी गर्दै सोपछि अर्थतन्त्र पनि क्रमशः लयमा फर्किने बताएका हुन्।
सिरहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको जग्गा हस्तान्तरण तथा सम्मान कार्यक्रममा बोल्दै उनले निर्वाचन गराउन सरकार पूर्ण रूपमा तयार रहेको पनि बताए।
उनले भने, ‘सरकारले निर्वाचनको वातावरण बनाइसकेको छ, कसैको अफवाह र हल्लामा परेर भ्रममा नपर्न म आम नागरिकलाई आग्रह गर्छु।’
उनले वर्तमान सरकार जेनजी आन्दोलनपछि बनेको उल्लेख गर्दै यसको प्रमुख दायित्व निर्वाचन सम्पन्न गराउनु रहेको बताए।