धादिङ- धादिङको नीलकण्ठ नगरपालिका-८, ज्यामिरेकी देवकी श्रेष्ठले एक वर्षअघि तीन महिनाको तालिम लिएर गलैँचा बुन्न थालेकी थिइन्। घरमै गलैँचाको तान (ठग्टी) हालेर गलैँचा बुन्दै आएकी उनले हालै सो काम छाडेकी छन्।
सोचेजस्तो आम्दानी नभएपछि उनले काम छाडेकी हुन्। उनले भनिन्, 'राम्रै आम्दानी हुन्छ कि भनेर तालिम लिएरै गलैँचा बुन्न थालियो। एउटा गलैँचा बुन्न तीन साता लाग्छ। तर, बुनेको ज्याला पाँच हजार रुपैयाँदेखि सात हजार रुपैयाँ मात्र पाइन्छ।'
सुरुमा सिक्दा नजानेर ढिलो भएको होला भन्ने लागे पनि पछिसम्म जति बुन्दा पनि मेहनतअनुसार आम्दानी नभएपछि काम छाडेको देवकी बताउँछिन्। देवकीले झैँ उनका धेरै गाउँले महिलाहरूले गलैँचा बुन्ने काम क्रमशः छाड्न थालेका छन्।
महिलाहरूले गलैँचा बुन्न चासो देखाएपछि वडा कार्यालयले प्रशिक्षक राखेर तालिम दिएको थियो। उनीहरूलाई वडाले तान पनि उपलब्ध गराएको थियो। मेहनतअनुसार आम्दानी नभएपछि महिलाहरूले वडा कार्यालयलाई तान फिर्ता गर्न थालेका छन्।
आफूले तयार पारेको एउटै गलैँचा विदेशमा २० हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्ममा बिक्री हुन्छ भन्ने उनीहरूले सुनेका छन्। तर, बुनेको ज्याला सोचेभन्दा निकै कम पाएको नीलकण्ठ नगरपालिका-८, रामकोटकी लक्ष्मी श्रेष्ठले बताइन्।
गलैँचाका लागि आवश्यक कच्चापदार्थ कहाँबाट आउँछ, बुनेका गलैँचा कहाँ लगेर बिक्री गर्ने भन्नेबारे श्रमिकहरूलाई थाहा हुँदैन। गाउँमा गलैँचा उत्पादक कम्पनीका प्रतिनिधि जान्छन्। आवश्यक धागो, कैँची, तान र गलैँचाको नक्सासमेत घरमै पुर्याइदिन्छन्। ज्याला पनि उनै प्रतिनिधिले तोकिदिन्छन्। श्रेष्ठले भनिन्, 'कम्पनीको मान्छेले सबै सामान ल्याइदिन्छ, हाम्रो लगानी पर्दैन। तर पनि हाम्रो दैनिक ज्याला उठ्दैन।'
विभिन्न ठाउँमा प्रशिक्षकको रूपमा काम गर्दै आएका लालबहादुर श्रेष्ठले घरमा बसेर गर्न मिल्ने भएकाले ज्याला थोरै दिने गरेको बताए। कम्पनीले कति रुपैयाँ दिन्छ भन्नेबारे आफूलाई थाहै नहुने उनले सुनाए।
'मोटो वा मसिनो धागो र चित्रअनुसार ज्याला फरक छ। मोटो धागोको बुन्न छिटो हुन्छ, पैसा कम दिन्छ,' उनले भने, 'मसिनो धागोको बुन्न गाह्रो र ढिलो हुन्छ, पैसा धेरै आउँछ।' लामो समयदेखि गलैँचा बुन्न सिकाउँदै आउएका लालबहादुरका अनुसार मोटो धागोले बुन्न १८ देखि २० दिन लाग्छ भने मसिनो धागोले एउटा गलैँचा तयार गर्न एक जनालाई ४० देखि ४५ दिन लाग्छ।
मोटो धागोबाट तयार पारेको बुट्टाअनुसार पाँच हजार रुपैयाँदेखि सात हजार रुपैयाँसम्म र मसिनो धागोबाट तयार पारेको १७ हजार रुपैयाँदेखि १८ हजार रुपैयाँसम्म ज्याला पाइने उनी बताउँछन्। एक वर्षअघि वडा कार्यालयले दिएको तालिममा २० जनाले गलैँचा बुन्न सिकेका थिए। १८ जनाले तान घरमै लगेर बुन्न थालेका थिए। तर, हाल सो संख्या घटेर पाँच जनामा सीमित भएको छ।
गलैँचा कम्पनीका प्रतिनिधि बुद्धसिंह तामाङका अनुसार कच्चापदार्थ विदेशबाट आयात गर्नुपर्छ र गलैँचा तयार गरिसकेपछि फेरि विदेशमै निर्यात गरिन्छ। महिलाले बुनेका ९० सेन्टिमिटर चौडाइ र १९० सेन्टिमिटर लम्बाइको गलैँचाको बजार मूल्य बुट्टाअनुसार १५ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म पर्छ। ढुवानी, प्रशोधन गरी बिक्रीका लागि तयार गर्दा खर्च धेरै हुने भएकाले श्रमिकलाई पाँच हजार रुपैयाँदेखि सात हजार रुपैयाँभन्दा बढी ज्याला दिन नसकिने उनको भनाइ छ।
कमजोर अध्ययनको भरमा कार्यक्रम गर्दा यस्ता अवस्था आउने घरेलु तथा साना उद्योग कार्यालय धादिङका प्रमुख चूडामणि पुरीले बताए। स्थानीय तहले हचुवाको भरमा बजेट हाल्ने र पहुँचको आधारमा बजेट लगानी गर्दा पनि समस्या भएको पुरीको भनाइ छ।
नीलकण्ठ नगरपालिका-८ का वडाध्यक्ष प्रकाशकुमार श्रेष्ठले स्थानीय महिलाको मागअनुसार तालिम सञ्चालन गरेको बताए। धादिङको नीलकण्ठ, नेत्रावती, गंगाजमुना, सल्यानटार, महादेवबेँसीलगायतका स्थानमा गलैँचा बुन्ने श्रमिकहरू छन्। जिल्लाभर चार सयको हाराहारीमा गलैँचा बुन्ने श्रमिक छन्। रासस