चितवन- देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको छ। भोलि शुक्रबार सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्न लागिएको हो।
देवघाट क्षेत्र विकास समितिको संयोजनमा तीन पालिकासहितको उपस्थितिमा प्लाष्टिक निषेधित क्षेत्र घोषणा गर्न लागिएको हो। समितिसँगै 'सहमति' संस्था र 'नदीसँग हामी'लगायतका संस्थाहरूसँगको सहकार्यमा प्लाष्टिकमुक्त घोषणा गर्न लागिएको हो।
यसका लागि पवित्र तीर्थस्थल देवघाट क्षेत्रभित्र ३७ वटा फोहर फाल्ने डस्टबिनहरू राखिएको छ। जसमा प्लाष्टिकजन्य सामग्री फाल्ने, पानीका बोटल फाल्ने र ब्लेट (पत्ती) फाल्ने छुट्टाछुट्टै राखिएको छ। देवघाट क्षेत्र विकास समितिको अगुवाइ र भरतपुर महानगरपालिका, गैँडाकोट नगरपालिका एवं देवघाट गाउँपालिकाको सहकार्यमा कार्यक्रम गर्न लागिएको हो।
समितिका अध्यक्ष डा. ईश्वरीराज लौडारीले प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरेसँगै प्लाष्टिकमुक्त बनाउने अभियान सञ्चालन हुने जानकारी दिए। देवघाट क्षेत्र विकास समितिभित्रको ५ हजार ४ सय ३४ हेक्टर क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गर्न लागिएको उनको भनाइ छ।
फोहर व्यवस्थापनका लागि सबै एकजुट हुन आवश्यक रहेको उनको भनाइ छ। हरेक सभ्यतासँग नदी जोडिएकाले नदी सफाइमा सबै लाग्न जरुरी रहेको उनले बताए।
सो कार्यमा सहकार्य गर्दै आएको संस्था सहमतिका अध्यक्ष ओमनाथ सुवेदीले यस कार्यमा सबैले सक्रिय रूपमा लाग्न आवश्यक रहेको बताए। देवघाटको दाहासंस्कार स्थलको फोहर व्यवस्थपानमा केही समस्या देखिएको भए पनि व्यवस्थापनका लागि सबै जुट्नुपर्ने उनले बताए।
अहिले देवघाट क्षेत्र प्लाष्टिकमुक्त गर्नका लागि जनचेतना, झोला नियन्त्रण अभियानलगायका कामहरू गरिएको उनले बताए।
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले देवघाट क्षेत्र प्लाष्टिकमुक्त बनाउका लागि सबैको सहकार्य आवश्यक रहेको बताए। रासस
