बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

झाडी फाँडेर व्यावसायिक सुन्तलाखेती

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस १० २०८२
झाडी फाँडेर व्यावसायिक सुन्तलाखेती

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका-७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला बगान बनाएका छन्। 

२० वर्षअघि बिलाउनीको झाडीले भरिएको भिरालो पाखो सुन्तला र केराको बगैँचामा परिणत गरेका हुन्। दोवाटाका मित्रलाल गौतमले कुनै समय स्याल लुक्ने झाडी अहिले हराभरा बगैँचामा परिणत भएको बताए। 

'कोदो, मकैखेती हुन छाडेपछि पाखोबारी बाँझिएर बिलाउनीको झाडीले भरेको थियो,' उनले भने, 'केरा र सुन्तलाखेती गरेपछि आम्दानी हुन थाल्यो। घरव्यवहार चलाउन र छोराछोरीको पढाइ खर्च जुटाउन खाडी मुलुक जानु परेको छैन।'

यस वर्ष करिब पाँच लाख रुपैयाँबराबरको सुन्तला बेचेका मित्रलालले केराबाट थप एक लाख रुपैयाँ आम्दानी हुने बताए। उनले तीन वर्ष खाडी मुलुक साउदीमा भेडा चराएर वि.सं. २०५७ मा घर फर्किएपछि सुन्तला र केराखेती सुरु गरेका थिए। गौतमको १६ रोपनी पाखोबारीमा सुन्तला र केराको बगैँचा छ। 

मित्रलालसँगै उनका छिमेकी चन्द्रमा पाइजा र चनदेवी पुनले पनि पाखोबारीमा सुन्तलाखेती गरेका छन्। छिमेकी टोल नरालेका समलाल जुग्जालीले २०५० को दशकमा सुन्तलाखेती भित्र्याएका थिए।

हाल मालिका गाउँपालिका-७ मा पर्ने साविक बिम गाविसबाट वार्षिक एक करोड रुपैयाँभन्दा बढी मूल्यको सुन्तला बिक्री हुने अगुवा किसान भूपेन्द्र शर्माले बताए। पोखरा र चितवनका व्यापारीले बगैँचाबाटै प्रतिकिलो ७० रुपैयाँका दरले सुन्तला खरिद गरेर लगेका छन्। नयाँ बिरुवा थपिने र क्षेत्रफल विस्तार हुने क्रम जारी छ। 

अर्कला, नराले, ओखलढुंगा, टुनिबोट, दुुले, बनसार, नौमाने, भारवाङ, लुरवाङ, खारा र ढुनोट टोलमा व्यावसायिक सुन्तलाखेती भएको छ। सुन्तला बेचेर एक जना कृषकले ६० हजार रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी गरेका छन्। ६० भन्दा बढी घरपरिवारले व्यावसायिक सुन्तलाखेती गरेको अगुवा किसान भविराज पुनले बताए। 

'सडक यातायातको सुविधा, भूगोल र हावापानी अनुकूल भएकाले सुन्तलाखेती फस्टाएको छ,' उनले भने, 'कोदो, मकै, गहुँलगायत खाद्यान्नको विकल्पमा सुन्तलाखेती गर्ने क्रम बढेको छ।' पर्याप्त जमिन र आम्दानीको अन्य स्रोत नभएका कारण १५ वर्ष साउदी र कतारमा पसिना बगाएका चन्दबहादुर श्रीपालीले पछिल्लो १३ वर्षयता सुन्तलाखेतीलाई आम्दानीको माध्यम बनाएका छन्।

'चार वर्ष साउदीमा भेडा चराउँदा पाएको दुःख सम्झिएर २०५९ सालमा छुट्टीमा आउँदा बाँझो बारीमा सुन्तलाको बगैँचा लगाएको थिए,' उनले भने,  'त्यतिबेला लगाएको सुन्तला फल्न थालेपछि विदेशको तुलनामा यहीँ आम्दानी हुन थाल्यो। विदेश जानु परेको छैन। सुन्तलाखेती पेन्सनजस्तो भएको छ।' 

उनले वार्षिक चार लाख रुपैयाँको सुन्तला बिक्री गर्छन्। व्यवस्थित सिँचाइ सुविधा र सुन्तला ढुवानी गर्दा राखिने क्रेट आवश्यक रहेको बिमका कृषक बताउँछन्। रासस


प्रकाशित : बिहीबार , पुस १० २०८२१०:५४
  • सम्बन्धित विषय:

  • # सुन्तला
  • # सुन्तलाखेती
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend