काठमाडौं- चेरी अटोमोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स प्रालिले आफ्नो बहुप्रतिक्षित लाइफस्टाइल विद्युतीय एसयूभी आईकार भी२३ को डेलिभरी औपचारिक रूपमा सुरु गरेको छ।
कम्पनीले यस नयाँ यात्राको सुरुवात गर्दै पहिलो गाडी नेपालकी मोडल तथा सामाजिक सञ्जाल इन्फ्लुएन्सर इभा गिरीलाई हस्तान्तरण गरेको छ।
इभा गिरीलाई गरिएको यो हस्तान्तरणले उच्च फेसन र भविष्यउन्मुख इन्जिनियरिङको उत्कृष्ट संगमलाई प्रतिनिधित्व गर्दछ। नेपालकी एक चर्चित ट्रेन्डसेटरको रूपमा गिरीले आईकार भी२३ रोज्नुले यस गाडीको 'शो-स्टपर' छविलाई थप प्रष्ट पारेको छ, जसले नेपालका नयाँ पुस्ताका सफल व्यक्तिहरूको आकांक्षालाई पूर्ण रूपमा सम्बोधन गरेको कम्पनीको भनाइ छ।
यस गाडीमा १ सय किलोवाट (१ सय ३४ एचपी)को रियर-ह्विल-ड्राइभ मोटर छ जसले १ सय ८० एनएम टर्क जेनेरेट गर्छ। यसमा सीएटीएलले बनाएको ५९.९३ किलोवाट आवरको एलएफपी ब्याट्री जडान गरिएको छ। जसले एक पटकको फुल चार्जमा ४ सय १ किलोमिटरको प्रमाणित रेन्ज प्रदान गर्छ।
यो सहरी यात्रा र लामो दुरीको यात्रा दुवैका लागि उपयुक्त छ। २ सय १० एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स, १५.४ इन्चको विशाल २.५के सेन्ट्रल कन्ट्रोल डिस्प्लेमा उपलब्ध छ। पछाडिको सिट फोल्ड गर्दा यसमा ७ सय ४४ लिटरको विशाल ट्रंक स्पेस प्राप्त हुन्छ।
एसपीजी अटोमोबाइल्सका अनुसार पूर्व-बुकिङ गरेका अन्य ग्राहकहरूका लागि पनि देशव्यापी रूपमा डेलिभरी सुरु भएको छ। प्रिमियम लाइफस्टाइल सेगमेन्टमा उपलब्ध यो गाडीले नेपाली अटोमोबाइल बजारमा नयाँ तरंग ल्याउने कम्पनीको विश्वास छ।
एसपीजी अटोमोबाइल्स नेपालका लागि ओमोडा, जेइको र आईकार गाडीहरूको आधिकारिक बिक्रेता हो। कम्पनीले उच्च गुणस्तरका दिगो गाडीहरू मार्फत स्वच्छ ऊर्जातर्फको रूपान्तरणमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ।


