काठमाडौं- इराकी विद्युत मन्त्रालयका अनुसार इरानले ग्यासको आपूर्ति पूर्ण रूपमा रोक्दा इराकमा विद्युत उत्पादन चार हजार पाँच सय मेगावाटसम्म घटेको छ। मन्त्रालयका अनुसार इरानले आपतकालीन अवस्थाको कारण देखाउँदै ग्यास आपूर्ति रोक्ने निर्णय गरेको हो।
ग्यास अभावका कारण उत्पन्न संकटलाई न्यूनीकरण गर्न इराकी विद्युत मन्त्रालयले तेल मन्त्रालयसँग समन्वय गरी स्वदेशी वैकल्पिक इन्धन प्रयोग गरेर अधिकांश विद्युत केन्द्र सञ्चालनमा राख्ने प्रयास गरिरहेको जनाएको छ।
दशकौँदेखि द्वन्द्व र अस्थिरताका कारण दीर्घकालीन विद्युत अभाव भोग्दै आएको इराक विद्युत उत्पादनका लागि विशेष गरी गर्मी याममा इरानी ग्यासमा अत्यधिक निर्भर रहँदै आएको छ। तर, प्राविधिक समस्या, मर्मतसम्भार तथा भुक्तानीसम्बन्धी विवादका कारण ग्यास आपूर्ति बारम्बार अवरुद्ध हुने गरेको छ, जसका कारण देशका विभिन्न भागमा पटक-पटक विद्युत कटौती हुँदै आएको छ।
सन् २०१८ देखि संयुक्त राज्य अमेरिकाले इराकलाई इरानबाट ग्यास आयात गर्न प्रतिबन्ध छुट दिँदै आएको भए पनि यस वर्ष मार्चमा उक्त नीतिमा कडाइ गरिएको थियो। त्यस क्रममा इरानबाट सिधै विद्युत आयात गर्न दिइएको अनुमति हटाइए पनि ग्यास आयातसम्बन्धी छुट भने कायम राखिएको मन्त्रालयले जनाएको छ। रासस