काठमाडौं- ग्लोबल आईएमई बैंक र डीएआई-उदय परियोजनाबीच कोशी प्रदेशका विभिन्न साना तथा लघुउद्यमहरूलाई वित्तीय पहुँचका लागि सहकार्य गर्ने समझदारी भएको छ।
समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र परियोजनाका चिफ अफ पार्टी अरुण रानाले हस्ताक्षर गरेका छन्।
समझदारीपश्चात् कोशी प्रदेशमा सञ्चालित विभिन्न साना तथा लघु व्यवसायहरूलाई सहज रूपमा कर्जा प्रवाह हुने र लगानीको अभावले व्यवसाय विस्तार गर्न असमर्थ उद्यम तथा उद्यमीहरूको व्यवसाय विस्तारसँगै रोजगारी वृद्धि हुने अपेक्षा गरिएको छ।
सम्झौताअनुसार डीएआई-उदय परियोजनाले छनोट गरेका उद्यम तथा व्यवसायहरूले ग्लोबल आईएमई बैंकको कोशी प्रदेशका सम्पूर्ण शाखा कार्यालयबाट सहज रूपमा कर्जा पाउनेछन्।
नेपाल सरकार तथा स्विटजरल्याणड सरकारको द्विपक्षीय पहलस्वरूप कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको प्राविधिक सहयोगमा कोशी प्रदेशका सम्पूर्ण जिल्लाहरूमा डीएआई-उदय परियोजनाले कार्य गर्दै आइरहेको छ।
डीएआई-उदय परियोजनाले कोशी प्रदेशमा नवीकरणीय ऊर्जा, कृषि प्रशोधन, आईटी, पर्यटन तथा उत्पादनमूलक उद्योगलगायतका व्यवसायहरूलाई कर्जाको उपलब्धता तथा व्यावसायिक उन्नतितका लागि वित्तीय स्रोतमा सहज वातावरण बनाइरहेको छ।
ग्लोबल आईएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरकफरक विधामा सम्मानित बैंक हो। बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरेको छ।
ग्लोबल आईएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले आफ्ना ३५२ शाखा कार्यालय, ३८४ एटीएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १ हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ।


