मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

शीतलहरले सिरहाको जनजीवन कष्टकर, चोक-चोकमा दाउरा बाल्न थालियो

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस ९ २०८२
शीतलहरले सिरहाको जनजीवन कष्टकर, चोक-चोकमा दाउरा बाल्न थालियो

स्थानीयवासी बिहानैदेखि घुर तापेर बस्न थालेका छन् भने विद्यालयमा विद्यार्थीको उपस्थिति पनि घट्दै गएको छ।

सिरहा- शीतलहरका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ। चिसो हावाले लहान बजारसहित ग्रामीण क्षेत्रको दैनिक जनजीवन कष्टकर बनेको हो।

शीतलहरबाट बालबालिका, वृद्धवृद्धा तथा विपन्न समुदाय सबैभन्दा बढी प्रभावित भएका छन्। स्थानीयवासी बिहानैदेखि घुर तापेर बस्न थालेका छन् भने विद्यालयमा विद्यार्थीको उपस्थिति पनि घट्दै गएको छ।

चिसोको प्रभाव बढ्दै गएपछि लहान नगरपालिकाले आज बिहानैदेखि बजार क्षेत्रका विभिन्न चोकचोकमा दाउरा बाल्ने व्यवस्था सुरु गरेको छ। लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले ग्रामीण चोक, राधाकृष्ण चोक, गणेशचोक, हनुमानस्थान, हुलाक चोकलगायत स्थानमा दाउरा बाल्ने काम थालिएको जानकारी दिए। 

उनले भने, 'बढ्दो चिसोबाट नगरवासीलाई जोगाउन तत्काल राहतका कार्यक्रम सुरु गरेका छौँ। बजार क्षेत्रका प्रमुख चोकमा दाउरा बालिएको छ र वडासँग समन्वय गरेर २४ वटै वडाका आवश्यक स्थानमा दाउरा वितरण गर्ने तयारी भइरहेको छ। ' उनका अनुसार गरिब तथा विपन्न समुदायलाई लक्षित गरी ५०० परिवारलाई फाइबरका सिरक वितरण गर्ने तयारीसमेत गरिएको छ।

उनले भने, 'चिसोबाट कसैको ज्यान जोखिममा नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले आफ्नोतर्फबाट सक्दो पहल गरिरहेको छ।' 

यसैबीच मौसममा आएको अचानक परिवर्तन र निरन्तर चिसो हावाका कारण विद्यालयमा विद्यार्थीको उपस्थिति घटेको माध्यमिक विद्यालय पडरिया थारू टोलका प्रधानाध्यापक मनोज यादवले जानकारी दिए। उनका अनुसार अत्यधिक चिसोका कारण विशेषगरी विपन्न परिवारका बालबालिकासँग न्यानो लुगाको अभाव हुँदा विद्यालयमा नियमित उपस्थिति हुन नसकेको हो।

त्यसैगरी डिभिजन वन कार्यालय लहानले पनि जाडो छल्न दाउरा व्यवस्थापनमा सहयोग गरिरहेको जनाएको छ। कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार जिल्लाका मुख्य बजार क्षेत्रमा दाउरा उपलब्ध गराउन कार्यालयले पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

चिसोको प्रभाव बढ्दै गएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बस्ने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए।

उनका अनुसार जिल्लाका १७ वटै स्थानीय तहका प्रमुखसँग छलफल भइरहेको र छिट्टै बैठक बसेर दाउरा उपलब्ध गराउने, न्यानो कपडा वितरण गर्नेलगायत आवश्यक निर्णय गरी कार्यान्वयन गरिनेछ। लगातारको शीतलहरले जनजीवन प्रभावित भइरहेकाले सरकारी निकाय तथा स्थानीय तहले सक्रियता बढाएका छन्। रासस


प्रकाशित : बुधबार, पुस ९ २०८२१४:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend