म्याग्दी- म्याग्दीको बेनी नगरपालिका-३, मरेककी एकल महिला कर्णकुमारी पुर्जा पुनले गत वर्षको सुन्तला बेचेर थालेको पक्की घर निर्माण यस वर्षको सुन्तला बिक्रीसँगै सम्पन्न हुँदैछ।
उमेरले ७२ वर्ष पुगेकी कर्णकुमारीले गत वर्ष सुन्तला बेचेर कमाएको १५ लाख रुपैयाँसहित आफूसँग बचत रहेको केही रकम खर्चिएर बनाउँदै गरेको ढलान घरमा रङरोगन भइरहेको छ।
यस वर्ष उनको बारीमा १० लाख रुपैयाँभन्दा बढीको सुन्तला फलेको छ। कर्णकुमारीले फलाएको सुन्तलाको दुई वर्षकोे कमाइबाट घर ठडिन्छ। सुन्तलाबाट पर्याप्त आम्दानी हुन थालेपछि उनको पहिलो रोजाइमा घर निर्माण परेको हो। यसअघि उनको कच्ची घर जीर्ण अवस्थामा थियो।
श्रीमानको निधनपछि जोत्ने हलगोरु र काम गर्ने खेताला खोज्न झन्झट लागेर सुन्तलाखेती गरेकी कर्णकुमारीको बगैँचा अहिले पहेँलपुर छ। मकै, कोदो, गहुँजस्ता परम्परागत खेतीबाली लगाउन छाडेर करिब २० वर्षअगाडि सुन्तलाका केही थान बिरुवा ल्याएर खेती थालेकी कर्णकुमारीले पहिलो उत्पादन बेचेर एक हजार ६०० रुपैैयाँ कमाएकी थिइन्। उनले सुन्तलाबाट एक सय रुपैयाँ, एक हजार रुपैयाँ हुँदै १५ लाख रुपैयाँसम्म बुझेकी छन्। अहिले कर्णकुमारीको १० रोपनी क्षेत्रफलमा सुन्तला बगैँचा फैलिएको छ।
कुनै वर्ष रोगले सुन्तला सखाप हुँदा निराश भए पनि हरेस नखाएकी कर्णकुमारीको दैनिकी सुन्तला बगैँचामै बित्ने गरेको छ। 'आफ्ना सन्ततिलाई जस्तै गरी सुन्तलाको बोटलाई स्याहार गर्छु। मलाई खुसी दिने यही सुन्तलाका बोट बनेका छन्। बुढेसकालमा पनि मेरो दैनिकी सुन्तलासँगै चलेको छ,' उनले भनिन्। गत वर्षको तुलनामा कम फले पनि उत्पादनबाट सन्तुष्ट रहेको कर्णकुमारी बताउँछिन्।
रोजगारीको सिलसिलामा अफगानिस्तान पुगेका श्रीमानको २०६७ सालमा आतंककारीको आक्रमणबाट निधन भएपछि घरव्यवहार धान्न हम्मेहम्मे परेको कर्णकुमारीले बताइन्। सुन्तलाले दैनिकी सहज बनाएको उनको भनाइ छ। सुन्तलाको कमाइले छोरीहरूको शिक्षादीक्षा, विवाहलगायतका घरायसी खर्चसँगै बचतसमेत गरेको कर्णकुमारीले बताइन्।
'आफ्नो संसार उजाडिएपछि मलाई बाँच्न सुन्तलाले सिकाएको छ। सुन्तलाले आर्थिक रूपमा बलियो बनाएको छ,' कर्णकुमारीले भनिन्।
सुन्तलाखेती बुढेसकालको सहारा बनेको छ। घरखर्च चलाउन श्रीमान, सन्तानमाथि निर्भर हुनुपर्ने अवस्थाको अन्त्य गर्न फलफूल र तरकारीखेती गरे पुग्ने कर्णकुमारीको सुझाव छ। उनी मरेक गाउँमा सबैभन्दा धेरै सुन्तला फलाउने कृषकको रूपमा चिनिन्छिन्। सुन्तला खरिदका लागि आएका व्यापारीको समेत कर्णकुमारीको बगैँचा पहिलो रोजाइमा पर्ने गर्दछ। रासस
