झापा- चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर मसान्तसम्ममा पूर्वी नाका काँकरभिट्टाबाट ७ अर्ब ८४ करोड ४० लाख २३ हजार रुपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। पूर्वी नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो।
मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा २३ करोड ५२ लाख ७० हजार अर्थात् ३.१० प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ। आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व २.५० प्रतिशत अर्थात् नौ करोड ४२ लाख ९५ हजार रुपैयाँले बढेको सूचना अधिकारी हुमागाईँले जानकारी दिए।
कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा पेट्रोलियम पदार्थ आयातबाट ३ अर्ब ८० करोड ५८ लाख ६४ हजार रुपैयाँ राजस्व संकलन भएको छ। उक्त अवधिमा ३ अर्ब ८२ करोड ७० लाख रुपैयाँको ४३ हजार १६० किलोलिटर पेट्रोल आयात भएको थियो। त्यसैगरी २ अर्ब ५३ करोड १६ लाख रुपैयाँको २६ हजार १२० किलोलिटर डिजेल आयात भएको छ।
त्यसैगरी पाँच महिनामा १ अर्ब १ करोड ६० लाख रुपैयाँको १० हजार ४८० मेट्रिक टन एलपी ग्यास, ३२ करोड ८२ लाख रुपैयाँको ३ हजार ५८० किलोलिटर एटीएफ र ६ करोड ३१ लाख रुपैयाँको ६ सय ८० किलोलिटर मट्टितेल आयात भएको छ। रासस