पर्सा- वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ७२ अर्ब २८ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ। वीरगञ्ज भन्सार कार्यालयले पाँच थरीका पेट्रोलियम पदार्थको आयातबाट मात्र सो अवधिमा ३० अर्ब २५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले चालु आर्थिक वर्षको पाँच महिनामा पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्वमा पनि वृद्धि भएको बताए।
गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा भने ६.४२ प्रतिशत अर्थात् एक अर्ब ८३ करोड रुपैयाँ बढी राजस्व संकलन भएको हो। जबकि गत आर्थिक वर्षको पाँच महिनामा भने ६९ अर्ब १५ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो। चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्ज हुँदै ३५ अर्ब ३१ करोड रुपैयाँको डिजेल आयात भएको छ।
त्यसैगरी १७ करोड ३६ लाख रुपैयाँको पेट्रोल र १२ अर्ब १७ करोड रुपैयाँको एलपी ग्यास आयात भएको छ। त्यस्तै ७ अर्ब २५ करोड रुपैयाँको एटीएफ र १९ करोड रुपैयाँको मट्टितेल आयात भएको छ। रासस