मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास

बुधबार, पुस ९ २०८२
भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास

भारत सरकारको सहयोगमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ स्थित राज्यलक्ष्मी माध्यमिक विद्यालयका लागि निर्माण गरिने विद्यालय भवनको शिलान्यास गरिएको छ।

काठमाडौं- भारत सरकारको सहयोगमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ स्थित राज्यलक्ष्मी माध्यमिक विद्यालयका लागि निर्माण गरिने विद्यालय भवनको शिलान्यास गरिएको छ।

उक्त भवनको मङ्गलबार काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सुलर अविनाशकुमार सिंह र ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका प्रमुख तेजन खनालले संयुक्त रुपमा गरे।

सिद्धिचरण नगरपालिका–५ स्थित राज्यलक्ष्मी माध्यमिक विद्यालयको भवन भारत सरकारको चार करोड रुपैयाँ भन्दा बढीको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ।

नयाँ भवन तीन र आधा तलाको हुनेछ। यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा अघि बढाइएको छ र ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामार्फत कार्यान्वयन गरिने बताइएको छ।

कार्यक्रममा सिद्धिचरण नगरपालिकाका प्रमुख, विद्यालय व्यवस्थापन र अन्य सरोकारवालाहरुले नयाँ विद्यालय भवनका लागि भारत सरकारले प्रदान गरिरहेको सहयोगको प्रशंसा गरे।

भारत सरकारको सहयोगमा गुल्मीको धुर्कोट गाउँपालिका–३ मा अवस्थित निन्युखर्क माध्यमिक विद्यालयका लागि निर्माण गरिने भवनको शिलान्यास गरिएको छ। उक्त भवनको मङ्गलबार काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सुलर गीताञ्जली ब्रैँडन र गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले संयुक्त रुपमा शिलान्यास गरे।

धुर्कोट गाउँपालिका–३ स्थित निन्युखर्क माध्यमिक विद्यालयको विद्यालय भवन भारत सरकारको आर्थिक सहयोग तीन करोड ८० लाख  रुपैयाँमा निर्माण गर्न लागिएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ।

नयाँ पूर्वाधारमा फर्निचर, कक्षाकोठा र अन्य सहयोगी संरचनासहितको दुई तल्ले विद्यालय भवन हुनेछ। यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा अघि बढाइएको छ र गुल्मीको धुर्कोट गाउँपालिकामार्फत कार्यान्वयन गरिने बताएको छ।

कार्यक्रममा धुर्कोट गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन र अन्य सरोकारवालाहरुले भारत सरकारले प्रदान गरिरहेको विकास सहयोगको प्रशंसा गर्नुभएको थियो।


प्रकाशित : बुधबार, पुस ९ २०८२०७:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend