काठमाडौं- नेपालको बैंकिङ क्षेत्रको सुधारका लागि सुझाव दिन गठन भएको कार्यदलले क्रिप्टोकरेन्सीका बारेमा पनि सुझाव दिएको छ। हाल नेपालमा प्रतिबन्ध लागेको क्रिप्टोका बारेमा एकपक्षीय रुपमा नहेरी यसको बहुउपयोगिताका बारेमा पनि हेर्नुपर्ने कार्यदले सुझाव दिएको हो।
क्रिप्टोलाई प्रतिबन्ध लगाएर ढुक्कसँग बस्नेभन्दा पनि यसका उपयोगिकता अरु उपकरणको खोजीका लागि निन्तर अनुसन्धान गर्नुपर्ने सुझाव दिइएको छ।
नेपाल राष्ट्र बैंकको गभर्नर बनेलगत्तै डा विश्व पौडेलले राष्ट्र बैंकका पूर्वनिर्देशक डा. रेवत बहादुर कार्कीको संयोजकत्वमा उक्त कार्यदल बनाएका थिए। पूर्वबैंकर भुवन दाहाल र नेपाल राष्ट्र बैंककै निर्देशक गुरुप्रसाद पौडेल सदस्य रहेकव उक्त कार्यदलले क्रिप्टो माइनिङको सम्भाव्यताको पनि अध्ययन हुनुपर्ने सुझाव दिएको हो।
नेपालमा बिजुली उत्पादन धेरै भएको अवस्थामा त्यसको उपयोगिता मानइनिङमा समेत हुनसक्ने सम्भावनाका बारेमा चनाखो भएर हेर्नुपर्ने सुझाव दिइएको छ।
नेपालमामात्र होइन नेपाली नागरिकलाई क्रिप्टोमा लगानी गर्न प्रतिबन्ध लगाइएको छ। प्रतिबन्धका बाबजुद नेपालीहरूले यसमा लगानी गरिरहेका छन्।
क्रिप्टोसँगै कार्यदलले केन्द्रीय बैंक डिजिटल करेन्सीका बारेमा पनि सुझाव दिएको छ। तर यसको लागत तथा लभको उपयुक्त विश्लेषण तथा अध्ययन नगरेसम्म अघि नबढाउन सुझाव दिइएको छ। पछिल्लो समय अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएसँगै विश्वमा सीबीडीसीको बहस मत्थर भएको छ।
नेपाल राष्ट्र बैंकले सीबीडीसीका बारेमा अध्ययन गराइसकेको छ।
बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै जाँदा त्यसको नियमनका लागि राष्ट्र बैंकले पनि क्षमतामा सुधार गर्नुपर्ने लगायतका सुझाव दिइएको छ।