मुस्ताङ- नेपाल-चीन उत्तरी नाका कोरला पूर्ण रूपमा सञ्चालनमा आएपछि विगत दुई वर्षदेखि माथिल्लो मुस्ताङका स्थानीयले रोजगारी प्राप्त गरेका छन्। कोरला नाकास्थित नेपालतर्फको दशगजा क्षेत्र र कोरलास्थित चीनतर्फ लिजी बजारमा माथिल्लो मुस्ताङीले व्यापार व्यवसाय सञ्चालन गरिरहेका छन्।
यो नाका वि.सं. २०८० कात्तिक २७ गतेदेखि खुला गरिएको थियो। त्यसअघि माथिल्लो मुस्ताङका नागरिकहरू कृषि, पशुपालन र घरायसी कामधन्दामा सीमित थिए। सो नाका माथिल्लो मुस्ताङका नागरिकहरूका लागि मात्रै खुल्ला हुँदै आएकामा सरकारले अन्तरदेशीय व्यापारिक मार्गको रूपमा गत ३० भदौमा पूर्ण रूपमा खुला गरको हो।
लोमान्थाङ-२ किम्लिङका स्थानीय लिन्डुप गुरुङ कोरला नाकामा त्रिपाल टाँगेर व्यापार गरिरहेका छन्। नाका नखुल्दा कृषि र पशुपालनमै सीमित गुरुङले कृषि र पशुपालनलाई थाती राखेर व्यापार गर्न थालेको बताए। यहाँ त्रिपाल टाँगेर व्यापार गर्ने करिब ८०/९० जनामध्ये हाल धेरैजसो जाडो छल्न बेँसी झरिसकेका छन्।
यो नाका समुद्री सतहदेखि चार हजार ६१० मिटरको उचाइमा अवस्थित छ। नाकामा चिसोका कारण पर्यटकीय रौनक घटे पनि नाका बन्द नहुने जनाइएको छ। नाकामा व्यापार गर्नेहरूले आन्तरिक रूपमा व्यापार व्यवसाय चलाउने आन्तरिक नियम बनाएका छन्। पर्यटकहरूलाई चिनियाँ उत्पादन बिक्री गर्न आलोपालो व्यापार गर्ने सहमति छ।
त्रिपाल टाँगेर व्यापार गर्नेहरूका लागि एक जीप बराबर दुई जना व्यापारीले व्यापार गर्न पाउने र चारवटा मोटरसाइकल आएमा एक जीपबराबर दुई जनाले व्यापार गर्न पाउने नियम बनाएको स्थानीय व्यापारी लिन्डुप गुरुङले जानकारी दिए।
नाकामा तीन सय जनाभन्दा बढीले व्यापार व्यवसाय सञ्चालन गरेका छन्। यहाँ एक सयभन्दा बढी युवाले लोड-अनलोड र विद्युतीय गाडी तथा मालवाहक कन्टेनरभित्र लाने-ल्याउने काम पाएका छन्। ती युवाहरूले दैनिक पाँच हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म आम्दानी गर्छन्। रासस