दाङ- घोराही उपमहानगरपालिका-१३ स्थित बाह्रकुने दहमा पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ।
आन्तरिक र बाह्य पर्यटकको गन्तव्यका रूपमा रहेको बाह्रकुने दहमा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको छ। दहमा १२ कुना भएको हुनाले यसको नाम 'बाह्रकुने दह' रहन गएको हो।
सुन्दर प्रकृतिको मनोरम दृश्य देखिने बाह्रकुने दहको सौन्दर्य अतुलनीय छ। यसलाई लुम्बिनी प्रदेशको एउटा नमुना स्थानका रूपमा लिइन्छ। यो धार्मिक एवं पर्यटकीयस्थलका रूपमा चिनिने गरेको छ। बाह्र भाइ बराहमध्ये एक भाइ बाह्रकुनेमा बसेको भन्ने किंवदन्ती छ।
तुलसीपुर उपमहानगरपालिका-१७ की सीता पन्थी साथीहरूसँग बाह्रकुने दह घुम्न आएको भेटिइन्। टोलका आमा समूहबाट रमाइलो गरौँ भनेर वनभोज खान बाह्रकुने आएको उनले सुनाइन्।
'तुलसीपुरमा हेरिरहेका धेरै ठाउँ थिए। घोराहीको बाह्रकुने हेर्ने अवसर मिलेको थिएन। यहाँ आउँदा धेरै रमाइलो लाग्यो,' पन्थीले भनिन्, 'वनभोज खाने, नाचगान गरेर रमाइलो गर्नेको भीडभाड नै हुने रै'छ। यहाँको मन्दिरवरिपरिको वातावरण रमाइलो रहेछ, मन्दिर छेउमा रहेको तालमा डुंगा सयर गर्दा झनै आनन्द आयो।'
तालमा माछालाई चारो हाल्दा झन् मजा आएको उनले बताइन्।
घोराही उपमहानगरपालिका-१८ की मुना पोखरेल पनि शनिबार विद्यार्थी लिएर बाह्रकुने आएकी थिइन्। घोराही बजारको नजिकै रहेको र यातायातको सुविधा भएकाले बिदाको दिन भएर होला धेरै भीडभाड भएको उनले बताइन्। वनभोज खानेको उपस्थिति झनै धेरै देखियो।
बाह्रै महिना यहाँ भक्तजनको भीडभाड हुने गर्छ। त्यसमा पनि मंसिरदेखि माघमा यहाँ धेरै भक्तजन आउने गरेको बराहक्षेत्र संरक्षण समितिका अध्यक्ष देवबहादुर घर्तीले जानकारी दिए। उनले भनिन्, 'बाह्रकुने दहमा वर माग्नका लागि भक्तजन आउने गर्दछन्। माघेसंक्रान्तिको दिन ठूलो मेला लाग्ने गर्दछ।'
त्यहाँ विशेषगरी निःसन्तान दम्पती सन्तानका लागि वर माग्न आउने गर्दछन्। यहाँ अन्य समयमा भन्दा माघेसंक्रान्तिमा निकै भीडभाड हुने गर्दछ। यहाँ १२ वटा आकारमा निर्मित प्राकृतिक ताल छ। त्यहाँ भेडा र भालेको बलि दिइन्छ भने परेवा उडाउने गरिन्छ।
ज्यामिरेमा डुंगा सरर
बाह्रकुने दहको उत्तरतिर रहेको ज्यामिरे दहलाई ठूलो बनाएपछि हरेक दिन आन्तरिक पर्यटक त्यहाँ पुग्ने गरेका छन्। अन्य दिनभन्दा बिदाको दिन बढी आन्तरिक पर्यटक यहाँ आउने गरेको ज्यामिरे दहमा डुंगा सञ्चालन गर्दै आएका वीरजंग पुनले बताए।
जंगलबीचमा सुन्दर पर्यटकीय गन्तव्यका रूपमा रहेको तालमा जिल्ला र बाहिरबाट घुम्न आन्तरिक पर्यटक आउने गरेको पुनले बताए। उनका अनुसार पछिल्लो समय दैनिक सरदर २०० देखि ३०० जनासम्म घुम्न आउने गरेका छन्। मंसिरदेखि वैशाख महिनासम्म बढी भीड हुने गरेको उनको भनाइ छ।
विगत तीन वर्षदेखि ज्यामिरे दहमा डुंगा चलाउँदै आएका पुनले डुंगा चलाएरै मासिक १५ हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको बताए। उनका अनुसार पछिल्लो समय डुंगा सयर गर्न र वनभोज खान दैनिक रूपमा मानिस आउने गरेका छन्। डुंगामा चढ्न एक जनाको १०० रुपैयाँ टिकटको व्यवस्था गरिएको छ। डुंगामा घुम्नका लागि १५ मिनेटदेखि २० मिनेटसम्म समय लाग्ने गरेको चालक पुनले बताए।
'सानो पोखरीलाई विस्तारसँगै डुंगा राखेर पर्यटक तान्ने काम भएको छ,' उनले भने, 'ज्यामिरे दह पर्यटकीय क्षेत्रका रूपमा विकास भएसँगै व्यापार हुन थालेको छ।' रासस
