रौतहट- रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै गएको छ।
मंगलबार हातेमालो सामुदायिक वन उपभोक्ता समूह चन्द्रपुर-४ र ६ ले वन संवर्द्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्ययोजना कार्यान्वयनसम्बन्धी अन्तरक्रिया आयोजना गरिएको थियो। सो अन्तरक्रियामा चन्द्रपुर सवडिभिजन वन कार्यालयका प्रमुख अनिल महतोले दिगो वन व्यवस्थापन कार्यक्रमले हातेमालो सामुदायिक वन उपभोक्ता समूह देशकै नमुना सामुदायिक वनको रूपमा स्थापित भएको बताए।
सो सामुदायिक वनको कुल क्षेत्रफलको २८२ हेक्टरमध्ये २७४ हेक्टर वन क्षेत्र उत्पादनशील रहेको उनले जानकारी दिए। आठवटा आवधिक खण्ड बनाएर संरक्षण गरिँदै आएको उक्त सामुदायिक वनमा बालीचक्र ८० वर्ष कायम गरेर वन संरक्षण कार्ययोजना बनाइएको वन अधिकृत महतोले जानकारी दिए।
एक खण्डमा करिब साढे ३४ हेक्टर जंगल रहेको र एक खण्डलाई १० वटा भागमा विभाजन गरी दिगो वन व्यवस्थापन कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ। चालु आर्थिक वर्षमा मात्रै साढे तीन हेक्टर वन क्षेत्रमा एक हजार ६९७ रुखमध्ये २७२ वटा रुख माउ रुखको रूपमा कायम गरिएको र बाँकी एक हजार ३२५ वटा रुख पुनःउत्पादन तथा कटानका लागि सिफारिस गरिएको छ।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तकुमार साहले जिल्लामा तीनवटा सामुदायिक वन र एउटा साझेदारी वनमा दिगो वन व्यवस्थापन कार्यक्रम लागु भएको जानकारी दिए। तिलेश्वरनाथ सामुदायिक वन उपभोक्ता समूह, भोर्लेनी सामुदायिक वन उपभोक्ता समूह र हातेमालो सामुदायिक वन उपभोक्ता समूह तथा रंगपुर साझेदारी वन उपभोक्ता समितिमा सो कार्यक्रम लागू भएको उनको भनाइ छ।
सामुदायिक वन उपभोक्ता महासंघ रौतहटका अध्यक्ष बेदहरी दाहालले दिगो वन व्यवस्थापन कार्यक्रम इमान्दारिताका साथ काम गरे फाइदैफाइदा हुने बताए।
हातेमालो सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामलाल ठोकरले आफूले नेतृत्व गरेको सामुदायिक वन साल उत्पादन तथा संरक्षणमा देशमै नमुनाको रूपमा परिचित हुँदै गएको उल्लेख गरे। रासस