मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

काँकरभिट्टा नाकाबाट आयात बढ्दा निर्यात घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस ८ २०८२
काँकरभिट्टा नाकाबाट आयात बढ्दा निर्यात घट्यो

कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर मसान्तसम्ममा आयात-निर्यातबाट ६ अर्ब ८२ करोड २ लाख ७१ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

झापा- चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर मसान्तसम्ममा पूर्वी नाका काँकरभिट्टाबाट २० अर्ब १४ करोड ४० लाख रुपैयाँबराबरका वस्तु आयात भएका छन्।

मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा  १ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ अर्थात् ७.५७ प्रतिशतले आयात बढेको हो। गत आर्थिक वर्षको पहिलो पाँच महिनामा १८ अर्ब ७२ करोड ६३ लाख रुपैयाँबराबरको वस्तु तथा सामान आयात भएको थियो।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा यो नाकाबाट हुने निर्यात भने घटेको छ। उक्त अवधिमा १० अर्ब ७१ करोड ५४ लाख रुपैयाँबराबरको सामान विभिन्न मुलुक निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ११ अर्ब ४७ करोड ९३ लाख रुपैयाँको वस्तु तथा सामान निर्यात भएको थियो। यो नाकाबाट निर्यात ६.६५ प्रतिशतले घटेको छ।

पूर्वी नाकाबाट निर्यात हुने मुख्य वस्तुमा अलैँची, चिया, प्लाइउड, भेनिउर सिट, छुर्पी, अम्रिसो, अदुवा, सुठो, मुसुरो, फलामे पातालगायत छन् भने आयात हुने मुख्य वस्तुमा पेट्रोलियम पदार्थ, तयारी कपडा, तरकारी, यातायातका साधन र तिनका पाटपुर्जा, सिमेन्ट क्लिंकर, शृंगारका सामान, कफी, प्लास्टिकका कच्चा पदार्थ, जुत्ता तथा चप्पल र खनिज उत्पादनलगायत छन।

कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर मसान्तसम्ममा आयात-निर्यातबाट ६ अर्ब ८२ करोड २ लाख ७१ हजार रुपैयाँ राजस्व संकलन भएको छ। रासस


प्रकाशित : मंगलबार, पुस ८ २०८२११:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend