बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

८८ अर्ब ३१ करोड लगानीमा बुढीगण्डकी ‘क’ र ‘ख’ आयोजना निर्माणको तयारी

मंगलबार, पुस ८ २०८२
८८ अर्ब ३१ करोड लगानीमा बुढीगण्डकी ‘क’ र ‘ख’ आयोजना निर्माणको तयारी

गोरखा- गोरखामा बुढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा छ। एक सय ३ दशमलव ४ मेगावाट क्षमताको बुढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बुढीगण्डकी ‘ख’ जलविद्युत् आयोजना बन्ने तरखरमा रहेको आयोजनाका इञ्जिनियर दुर्गेश मगरले बताए। उनका अनुसार दुवै आयोजना नौलो नेपाल हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालिले प्रवर्द्धन गर्न लागेको हो। 

कम्पनीले ३१ अर्ब ३२ करोड रुपैयाँको लागतमा बुढीगण्डकी ‘क’ र ५६ अर्ब ९९ करोड रुपैयाँको लागतमा बुढीगण्डकी ‘ख’ आयोजना निर्माण गर्न लागेको इञ्जिनियर मगरले जानकारी दिए। बुढीगण्डकी ‘क’ अन्तरगत, धार्चे-३ को लुस्याङमा बाँध बाँधेर चार किलोमिटर सुरुङबाट पानी ल्याई माछाखोलामा विद्युत् गृह निर्माण गर्ने योजना कम्पनीको छ।

आयोजना रन अफ द रिभर प्रविधिको हुनेछ। एक सय ११ मिटर अग्लो सतहबाट पानी खसालेर विद्युत् उत्पादन गरिने इञ्जिनियर मगरले बताए। सो आयोजनाको माछाखोलामा उत्पादित विद्युत् १२ दशमलव ७ किलोमिटर ट्रान्समिसन लाइन हुँदै बुढीगण्डकी ख मा जोडिनेछ। 

दुई सय २६ मेगावाट क्षमताको बुढीगण्डकी ‘ख’ को बाँध धार्चे-७ खानीबेंसीमा बाँधिनेछ। त्यहाँबाट ९ दशमलव ५ किलोमिटर सुरुङ हुँदै सोतीमा विद्युत् गृहमा विद्युत् उत्पादन गरिनेछ। रन अफ द रिभर प्रविधिको सो आयोजनामा १९७ दशमलव ९७ मिटर अग्लो सतहबाट पानी खसालेर विद्युत् उत्पादन गरिने इञ्जिनियर मगरले बताउँछन्।

'दुवै आयोजनाको इआइ र पिपिए भइसकेको छ', उनले भने, 'भूकम्पअघि गरेका दुवै आयोजनाको सर्वेमा भूकम्पको प्रभावपछि भएको हेरफेरको अवस्थाबारे अहिले अन्तिम सर्वेको काम भइरहेको छ। आउँदो सुक्खायामबाट निर्माणको काम गर्ने तयारी छ।'

यहाँ उत्पादन भएको र बुढीगण्डकी क बाट प्राप्त भएको गरी ३२९ दशमलव ४ मेगावाट विद्युत् १८ दशमलव ५ किलोमिटर टाढा धादिङको लापास्थित सवस्टेशनमा जोडिने छ। रासस


प्रकाशित : मंगलबार, पुस ८ २०८२०७:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend