काठमाडौं- नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले आधुनिक सडक मर्मत प्रविधिको प्रयोगमार्फत नेपालमा दिगो पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्टअन्तर्गत सडक मर्मत आयोजनाका सम्झौतामा हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै उनले यी आयोजनाले अमेरिका-नेपाल साझेदारीको सशक्तता र कम्प्याक्टको कार्यान्वयनगत प्रगति प्रतिबिम्बित गर्ने बताए।
राजदूत थम्प्सनले भने, 'धानखोला-लमही सडक स्तरोन्नति आयोजना र नारायणघाट-मुग्लिङ सडक मर्मत आयोजनाले कुनै एउटा सम्झौताभन्दा धेरै कुराको प्रतिनिधित्व गर्छ। संयुक्त रूपमा यिनीहरू अमेरिका–नेपाल साझेदारीको सशक्तता, मिलेनियम च्यालेञ्ज कम्प्याक्टको गति तथा नेपाली जनता र नेपालमा कार्यरत अमेरिकी व्यवसायीहरूका लागि मूर्त परिणाम सिर्जना गर्न सरकारका सबै तहमा रहेको साझा प्रतिबद्धता झल्काउने उपलब्धि हुन्।'
उनले थपे, 'कम्प्याक्टले नेपालमा अत्यावश्यक सडक पूर्वाधार उपलब्ध गराउँदै गर्दा यी दुई सम्झौताले फूल डेप्थ रिक्लेमेशन र सुपरपेभ प्रविधि प्रयोग गरी सडक मर्मत प्रविधिमा अमेरिकाको सर्वोत्कृष्टतालाई चिनाउनेछन्।'
एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत सडक मर्मत आयोजना कार्यान्वयनका लागि एमसिए–नेपालले करिब २ करोड ३७ लाख अमेरिकी डलर बराबरका दुई सम्झौतामा हस्ताक्षर गरेको छ। ती सम्झौतामार्फत पूर्व-पश्चिम राजमार्ग र नारायणघाट-मुग्लिङ सडक खण्डको स्तरोन्नति तथा मर्मत कार्य अघि बढाइनेछ।
एमसिए–नेपालले पूर्व–पश्चिम राजमार्गअन्तर्गत धान खोलादेखि लमहीसम्मको ४० किलोमिटर सडक खण्डमा फूल डेप्थ रिक्लेमेशन र सुपरपेभ प्रविधि प्रयोग गरी सडक स्तरोन्नति गर्न शर्मा-कुमार संयुक्त उपक्रमसँग करिब २ करोड अमेरिकी डलर बराबरको निर्माण सम्झौता गरेको हो।
यसैगरी, उक्त सडक खण्डको स्तरोन्नति कार्य तथा नारायणघाट-मुग्लिङ सडक खण्डको आवधिक मर्मत कार्यको सुपरिवेक्षण गर्न इण्टरनेशनल कन्सल्टेन्ट्स एण्ड टेक्नोक्राट्स प्रालिसँग करिब ३६ लाख ६० हजार अमेरिकी डलर बराबरको सम्झौता गरिएको छ।
स्तरोन्नति अन्तर्गत धान खोलादेखि लमहीसम्मको सडक खण्डमा सात मिटर चौडाइको क्यारिज वे र २.५ मिटरका शोल्डरसहित १२ मिटर चौडाइको सडक निर्माण गरिनेछ। नारायणघाट-मुग्लिङ सडक खण्डमा भने आवधिक मर्मत कार्य गरिनेछ। एमसीए-नेपालका अनुसार यी दुवै आयोजनामा प्रयोग गरिन लागेको एफडीआर र सुपरपेभ प्रविधि नेपालमा पहिलो पटक लागु हुन लागेको हो।