मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

मंसिरदेखि प्रदर्शनमा आएका चलचित्रको व्यापार कमजोर

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस ७ २०८२
मंसिरदेखि प्रदर्शनमा आएका चलचित्रको व्यापार कमजोर

चलचित्र विकास बोर्डअन्तर्गत रहेको 'सिनेपा २ बक्सअफिस' मा पुस ५ गतेसम्म रहेको तथ्यांकअनुसार मंसिरमा प्रदर्शन भएका चलचित्रको व्यापार सुखद छैन।

काठमाडौं- गत असोज र कात्तिकमा उत्साहजनक देखिएको नेपाली चलचित्रको व्यापार मंसिरमा भने कमजोर देखिएको छ। 

चलचित्र विकास बोर्डअन्तर्गत रहेको 'सिनेपा २ बक्सअफिस' मा पुस ५ गतेसम्म रहेको तथ्यांकअनुसार मंसिरमा प्रदर्शन भएका चलचित्रको व्यापार सुखद छैन। मंसिर १२ गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र 'हर्ष' ले पुस ५ गतेसम्म २८ लाख ७८ हजार ५ सय ३६ रुपैयाँ मात्र कमाइ गरेको छ। 

एकता पौडेलले निर्देशन गरेको चलचित्र हर्षका लागि जम्मा आठ हजार ८ सय ६६ वटा टिकट बिक्री भएका छन्। उक्त चलचित्रमा खगेन्द्र लामिछाने, सन्तोष पन्त, नीर शाह, वर्षा राउतलगायत कलाकारले अभिनय गरेका छन्।

मंसिर १८ गतेदेखि प्रदर्शन भएको चलचित्र 'अभिमन्यू' ले सोही अवधिसम्म २१ लाख ४८ हजार ७ सय २ रुपैयाँ कमाइ गरेको छ। सुशान्त गौतमले निर्देशन गरेको उक्त चलचित्रको ६ हजार ८ सय ५० वटा टिकट बिक्री भएका छन्। 

चलचित्रमा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, सरिता गिरी लगायतका कलाकारले अभिनय गरेका छन्। 'पूर्णबहादुरको सारंगी' जस्तो ऐतिहासिक सफल चलचित्रका निर्माता विनोद पौडेलले निर्माण गरेको दोस्रो चलचित्र व्यावसायिक रूपमा असफल देखिएको छ। 

मंसिर २६ गतेदेखि प्रदर्शन भएको चलचित्र 'पीआर' ले सोही अवधिमा ६ लाख ६८ हजार ६ सय ३३ रुपैयाँ कमाइ गरेको छ। उक्त चलचित्रको कुल दुई हजार १ सय ९ वटा टिकट बिक्री भएका छन्। शोभित बस्नेतले निर्देशन गरेको उक्त चलचित्रमा सुरज पौडेल, विनिता कार्की, नीर शाह, गौरी मल्ललगायत कलाकारले अभिनय गरेका छन्।

मंसिर २६ मा प्रदर्शन भएको चलचित्र 'लोकन्ती' ले ४ लाख एक हजार ३ सय ४० र 'चिराग' ले ६८ हजार ४ सय ५० रुपैयाँ कमाइ गरेको तथ्यांक 'सिनेपा २ बक्सअफिस' मा उल्लेख छ। उल्लेखित कमाइ गएको पुस ५ गते बेलुकी ११ बजेर ५९ मिनेटसम्म नेपालभर भएको हो।

विगतलाई हेर्दा पनि मंसिर र पुसमा प्रदर्शन भएका चलचित्रले व्यावसायिक रूपमा नयाँ रेकर्ड बनाउने गरेका छैनन्। यद्यपि माघदेखिको समय भने राम्रो मानिन्छ। किनकि चिसो कम हुने भएकाले नेपाली चलचित्रका निर्माताले उक्त समयलाई चलचित्र प्रदर्शन गर्न उपयुक्त मान्ने गरेका छन्। 

यद्यपि, कथावस्तुले आकर्षित गरे चलचित्रको व्यापार आफै बढ्ने वितरकहरू बताउँछन्। रासस


प्रकाशित : सोमबार, पुस ७ २०८२१५:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend