काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि मंसिर मसान्तसम्ममा नेपालले विश्वका विभिन्न देशबाट ७ खर्ब ६६ अर्ब १८ करोड ९१ लाख ९२ हजार रुपैयाँबराबरको सामान आयात गरेको छ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि मंसिर मसान्तसम्ममा आयात १५.८३ प्रतिशतले बढेको हो। गत आर्थिक वर्ष २०८१/०८२ को सोही अविधिमा ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख ९४ हजार रुपैयाँबराबरको सामान आयात भएको थियो।
यसैगरी पाँच महिनामा निर्यात ५८.१७ प्रतिशतले बढेको छ। विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको पाँच महिनामा १ खर्ब १६ अर्ब ५० करोड ९० लाख ३६ हजार रुपैयाँबराबरको सामान निर्यात भएको छ। गत आवको सोही अवधिमा ७३ अर्ब ६५ करोड ९७ लाख ७१ हजार रुपैयाँको सामान नेपालबाट निर्यात भएको थियो।
विभागकै अनुसार पाँच महिनामा कुल वैदेशिक व्यापार २०.०७ प्रतिशतले बढेर ८ खर्ब ८२ अर्ब ६९ करोड ८२ लाख २९ हजार रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा कुल वैदेशिक व्यापार ७ खर्ब ३५ अर्ब १४ करोड ८३ लाख ६५ हजार रुपैयाँ रहेको थियो।
यसैगरी व्यापार घाटा भने १०.५२ प्रतिशतले बढेर ६ खर्ब ४६ अर्ब ६८ करोड १ लाख ५६ हजार रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिको व्यापार घाटा भने ५ खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख २२ हजार रुपैयाँ रहेको थियो।