काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले 'फास्ट लोन अगेन्स्ट सेयर' प्लेटफर्म सार्वजनिक गरेको छ। यसअन्तर्गत इच्छुक सेयर लगानीकर्ताहरूले अनलाइनबाट सेयर धितो कर्जाका लागि आवेदन दिन सक्नेछन्।
बैंकले सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले आफूसँग भएको सेयरहरू धितो राखी सरल प्रक्रियाबाट सेयर धितो कर्जा प्राप्त गर्न सक्नेछन्।
ग्राहकहरूले अनलाइनबाट यो प्लेटफर्म प्रयोग गरी कर्जाको आवेदन दिन र आवश्यक कागजातहरू बुझाउन सक्नेछन्। ग्राहकहरूले कर्जा स्वीकृति अवधिसम्ममा एकपटक मात्र बैंकको शाखा कार्यालयमा उपस्थित भई आवश्यक कागजपत्रमा हस्ताक्षर गर्नुपर्नेछ।
यस प्रक्रियामा अनलाइन आवेदन पूरा गरेपछि आवेदकले निवेदनको अवस्थाको बारेमा आफैले जानकारी लिन समेत सक्नेछन्।
यो सेयर धितो कर्जाको सीमा हालका लागि न्यूनतम ५ लाख रुपैयाँदेखि अधिकतम ५० लाख रुपैयाँसम्म तोकिएको छ।
यो कर्जाको निमित्त धितोको रूपमा स्वीकार गरिने सेयरहरू निवेदक स्वयंको हुनुपर्नेछ। निवेदकबाहेक अन्य व्यक्तिका सेयरहरू धितोको रूपमा स्वीकार नगरिने बैंकले जनाएको छ।
ग्राहकहरूले यो सुविधा बैंकको ३१ वटा शाखा कार्यालयबाट पाउनेछन्। कर्जा लिन इच्छुक ग्राहकहरूले अनलाइन आवेदन दिँदा आफूलाई पायक पर्ने शाखा कार्यालय छनोट गर्न सक्नेछन्। यो सुविधा बैंकको डिजिटल युनिभर्समा पनि उपलब्ध छ।


