बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

योग, ध्यान र दृश्यावलोकनका लागि आकर्षक गन्तव्य 'स्वर्गाश्रम'

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस ७ २०८२
योग, ध्यान र दृश्यावलोकनका लागि आकर्षक गन्तव्य 'स्वर्गाश्रम'

आश्रममा १२ वर्षसम्म तपस्या गरी बसेकी इन्दिरा माताको नेतृत्व र स्थानीयको पहलमा केही वर्षअगाडि महायज्ञ आयोजना गरेर सहयोग जुटाइएको थियो।

म्याग्दी- पृष्ठभूमिमा लहरै हिमाल। वरपर घना जंगल। शान्त र एकान्त वातावरण्। पहाडको मध्यभागमा अवस्थित थुम्को। तलतिर देखिने नागबेली परेर बगेको म्याग्दी नदी, ग्रामीण बस्ती, चराचुरुङ्गी र वन्यजन्तुका आवाज। म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीमा रहेको 'स्वर्गाश्रम' प्राकृतिक रूपमा रमणीय, धार्मिक हिसाबले ऐतिहासिक र पर्यटकीय सम्भावना बोकेको ठाउँ हो।

परापूर्वकालमा तपस्या गर्न ऋषिमुनीहरू आउने स्वर्गाश्रममा आधुनिक समाजमा विपश्यना, योग, ध्यान, घुमघाम र प्राकृतिक दृश्य अवलोकनका लागि पूर्वाधार बनेको छ। आधारभूत पूर्वाधार तयार भए पनि स्वर्गाश्रममा पर्याप्त पाहुना, भक्तजन र पर्यटक भित्र्याउन नसकिएको बेनी नगरपालिका-३ का वडाध्यक्ष पदम पुनले बताए।

'पछिल्लो एक दशकमा स्वर्गाश्रममा कच्ची सडक, पदमार्ग, खानेपानी, विद्युत, सञ्चार सुविधा विस्तार, आश्रयस्थल भवन, घेराबार निर्माण भएको छ,' उनले भने, ‘स्थानीयस्तरमा सीमित बनेको स्वर्गाश्रमको महत्त्वलाई उजागर गरेर पर्यटक भित्र्याउन पहल थालिएको छ।'

बेनी नगरपालिका, वडा कार्यालय, स्वर्गाश्रम क्षेत्र विकास समितिको साझेदारीमा त्यहाँ आधारभूत पूर्वाधार तयार गरिएको वडा अध्यक्ष पुनले बताए। आश्रममा १२ वर्षसम्म तपस्या गरी बसेकी इन्दिरा माताको नेतृत्व र स्थानीयको पहलमा केही वर्षअगाडि महायज्ञ आयोजना गरेर सहयोग जुटाइएको थियो।

महायज्ञबाट संकलित रकम र सरकारी निकायको सहयोगमा गणेश मन्दिर, पानी जम्मा गर्ने कुवा, आश्रम घर र तीर्थालु बस्ने सत्तल निर्माण भएको हो। बेनी नगरपालिकाको सहयोगमा स्वर्गाश्रम परिसरमा ढुंगा बिछ्याइएको, पदमार्ग र घेराबार निर्माण भएको वडा सदस्यसमेत रहेका स्वर्गाश्रम क्षेत्र विकास समितिका अध्यक्ष रत्नबहादुर जीसीले बताए।

उनका अनुसार समुद्री सतहदेखि करिब दुई हजार पाँच सय मिटर उचाइमा अवस्थित स्वर्गाश्रम दुई सय वर्षअघि ऋषिमुनीले तपस्या गरी ज्ञान आर्जन गरेको ठाउँका रूपमा परिचित छ। 'आश्रमनजिकैको गुफामा सप्तऋषिले तपस्या गरेको किंवदन्ती छ,' जीसीले भने, 'स्वर्गाश्रमको दर्शन गरेमा अन्य पाँच पवित्र तीर्थस्थलको दर्शन र मनोकामना पूरा हुने जनविश्वास छ।'

फाट्टफुट्ट रूपमा नेपाल र भारतका विभिन्न ठाउँका तपस्वीहरू स्वर्गाश्रममा आउने गरेका छन्। हिमालको काँखमा शान्त वातावरणमा योग, ध्यान र विपश्यनाका लागि स्वर्गाश्रम उपयुक्त भएको योगी बद्रीनाथले बताए। 'पहिले यहाँ तपस्वीहरूले ओढारमा बस्नुपर्ने समस्या थियो,' उनले भने, 'पूर्वाधार निर्माण भएपछि सहज भएको छ।'

अर्का योगी त्रिशक्तिनाथले यहाँ आउँदा कोलाहल र तनावबाट मुक्ति मिल्ने भएकाले स्वर्गाश्रम नाम रहन गएको बताए। स्वर्गाश्रमबाट मनोरम हिमशृंखला र बेनी बजारसहित दर्जनौँ गाउँबस्तीको दृश्यावलोकन गर्न सकिन्छ।

गुर्जा, चुरेन, धौलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृंखलाको दृश्य अवलोकन गर्न सकिन्छ। नागबेनी परेर बगेको म्याग्दी नदी, जिल्ला सदरमुकाम बेनी बजार, पर्वतको मल्लाज, म्याग्दीको अर्थुंगे, पुलाचौर, कुहुँ, बरङ्जा, बाबियाचौर, भकिम्ली गाउँको दृश्य अवलोकन गर्न सकिन्छ। स्वर्गाश्रमको फेदीमा रहेको बागखोरमा उद्यान छ। जहाँ हिमशृंखला अवलोकन गर्दै वनभोज खान सकिन्छ।

हरेक वर्षको वैशाख १ गते स्वर्गाश्रमदेखि केहीमाथि म्याग्दी र बागलुङको सिमानामा रहेको बेलढुंगासम्म रथयात्रा गर्ने चलन छ। स्वर्गाश्रम र बेलढुंगाको एकीकृत पर्यटन विकासमा बागलुङको काठेखोलाको धम्जा र म्याग्दीको बेनी नगरपालिकाको भकिम्लीको वडा कार्यालय र संघसंस्थाले साझेदारी गर्दै आएका छन्।

स्वर्गाश्रमको महत्त्वलाई उजागर गर्ने उद्देश्यले आइतबार दोस्रो विश्व योग दिवसको अवसरमा यहाँ कार्यक्रम आयोजना गरिएको थियो। बेनी नगरपालिका-३ को कार्यालयको सहयोगमा नवीन आनन्द योग केन्द्र नेपाल र स्वर्गाश्रम क्षेत्र विकास समितिको आयोजनामा स्वर्गाश्रममा ध्यान दिवस मनाइएको हो।

दिवसको अवसरमा योग, ध्यानको नमुना प्रदर्शन, प्रवचन र नृत्य प्रस्तुत गरिएको थियो। दिवस मनाउनका लागि बेनी, गलेश्वर, तातोपानी, बाबियाचौर र दरवाङका योगी तथा स्थानीयवासी स्वर्गाश्रममा भेला भएका थिए। बेनीदेखि भकिम्ली र काठेखोलाको धम्जा हुँदै स्वर्गाश्रम पुग्न सकिन्छ। बेनीदेखि एक घण्टा ३० मिनेट गाडीमा यात्रा गरेपछि स्वर्गाश्रम पुगिन्छ। त्यहाँ कच्ची सडक पुगेको छ। धम्जामा बेलढुंगा होमस्टे सञ्चालन भएको छ।

भकिम्लीको भुकभुके र मुसुङका बासिन्दाले पनि स्वर्गाश्रम, बेलढुंगा घुम्न आउने पाहुनालाई घरमा खाने, बस्ने व्यवस्था मिलाएका छन्। भुकभुके र मुसुङमा होमस्टे सञ्चालनको तयारी भएको स्वर्गाश्रम क्षेत्र विकास समितिकी कोषाध्यक्ष पूर्णमाया जीसीले बताइन्। आफै बन्दोबस्तीका सामान ल्याएर आउने पाहुना र पर्यटकले स्वर्गाश्रम र बाघखोरको आश्रयस्थल भवनमा पकाएर खान सक्छन्। रासस


प्रकाशित : सोमबार, पुस ७ २०८२१३:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend