बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

साढे १७ करोड रुपैयाँको लागतमा १५ शय्याको नगर अस्पताल निर्माण

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस ७ २०८२
साढे १७ करोड रुपैयाँको लागतमा १५ शय्याको नगर अस्पताल निर्माण

नवनिर्मित अस्पताल भवनमा बहिरंग सेवा, ल्याब, अपरेशन थियटर, फार्मेसी, अन्तरंग विभाग, प्रशासनिक सेवा र चिकित्सक आवास कक्ष छन्।

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु नगरपालिकामा १७ करोड ५६ लाख २८ हजार रुपैयाँको लागतमा नगर अस्पताल भवन निर्माण गरिएको छ। मध्यबिन्दु नगरपालिकाको चोरमारामा नगर अस्पताल भवन निर्माण गरिएको हो। 

२०७९ मंसिरमा शिलान्यास गरी भवन निर्माण सुरु गरिएको थियो। तीन वर्षको अवधिमा सुविधासम्पन्न मध्यबिन्दु नगर अस्पतालको भवन निर्माण गरिएको मध्यबिन्दु नगरपालिका नगर प्रमुख भीमलाल अधिकारीले जानकारी दिए।

चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शय्याको नगर अस्पताल पुनर्निर्माण गरिएको नगर प्रमुख अधिकारीले बताए। भवनको आइतबार उद्घाटन गरिएको छ। ४२ कोठासहितको दुई तलाको अस्पताल निर्माण भएसँगै स्वास्थ्य सेवा प्रदान गर्न सहज भएको नगर प्रमुख अधिकारीले बताए।

नवनिर्मित अस्पताल भवनमा बहिरंग सेवा, ल्याब, अपरेशन थियटर, फार्मेसी, अन्तरंग विभाग, प्रशासनिक सेवा र चिकित्सक आवास कक्ष छन्।

सुविधासम्पन्न पूर्वाधारको अस्पताल निर्माण भएको र अब गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि सेवाहरू थप गर्ने क्रममा रहेको नगर प्रमुख अधिकारीले बताए।

मध्यबिन्दु नगर अस्पतालबाट मध्यबिन्दु नगरपालिकाभित्रका बासिन्दासहित विनयी त्रिवेणी, हुप्सेकोट र पूर्वी पाल्पाका बासिन्दालाई समेत स्वास्थ्य सेवा लिन पायक पर्ने नगर प्रमुख अधिकारीले बताए। १५ शय्याको अस्पताल निर्माण भएसँगै  स्वास्थ्य उपचार सेवासमेत विस्तार गरिँदै लैजाने उनले बताए।

यसै महिनादेखि एमडीजीपीसहित दैनिक रूपमा हरेक दिन एउटा विशेषज्ञ सेवा प्रदान गर्ने गरी काम अगाडि बढाइएको नगर प्रमुख अधिकारीले बताए। बालरोग विशेषज्ञ, फिजियोथेरापी, हाडजोर्नी लगायतका सेवा प्रदान गर्ने बताए। अस्पतालमा आँखा अस्पताल पनि सञ्चालनमा ल्याइएको छ।

शल्यक्रियासहितको आँखा उपचार सेवा सुरु गरिएकाले यस क्षेत्रका आँखाका बिरामीले  थप लाभ लिन सक्ने उनले बताए। ग्रामीण क्षेत्रका बासिन्दालाई सहज रूपमा आफ्नै घरनजिक स्वास्थ्य सेवा लिनका लागि नगर अस्पतालले सहयोग पुग्ने नगर प्रमुख अधिकारीले बताए।

'सुविधासम्पन्न नगर अस्पताल निर्माण हुँदा यस क्षेत्रका बासिन्दालाई नजिकै स्वास्थ्य उपचार सेवा लिन सहज हुनेछ,'नगर प्रमुख अधिकारीले भने। मध्यबिन्दु नगर अस्पतालमा अहिले दैनिक रूपमा करिब तीन सय बिरामीले उपचार सेवा लिइरहेको अस्पतालका प्रमुख अमरेशचन्द्र साहले जानकारी दिए। अस्पतालले आकस्मिक उपचार सेवासमेत सञ्चालन गरेको प्रमुख शाहाले बताए।

पूर्व-पश्चिम राजमार्गसँगै रहेकाले मध्यबिन्दु आसपास राजमार्ग क्षेत्रमा सम्भावित दुर्घटनाका घाइतेलाई समयमै उपचार सेवा उपलब्ध गराउनका लागि नगर अस्पतालले सहयोग पुग्ने उनले बताए। रासस


प्रकाशित : सोमबार, पुस ७ २०८२११:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend