बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कोदो, मकै फल्ने बारीमा लटरम्म सुन्तला, १५ लाख रुपैयाँको बिक्री

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस ७ २०८२
कोदो, मकै फल्ने बारीमा लटरम्म सुन्तला, १५ लाख रुपैयाँको बिक्री

बागलुङ- पछिल्ला समयमा बसाइँसराइले गाउँ रित्तिँदै छ। गाउँमा भएकाहरू पनि सहर झर्ने मिति जुराउँदै छन्। जिल्लास्थित  किमबोटबाट बसाइँ सर्नेमध्येका लोकनाथ कँडेल पनि एक हुन्। १३ वर्षअगाडि सुविधा खोज्दै बागलुङ बजार झरेका उनी अहिले पनि प्रायः गाउँमै भेटिन्छन्। कँडेल गाउँमै भेटिनुको मुख्य कारण हो, सुन्तला। जिल्लामै अगुवा किसानका रूपमा परिचित कँडेलले बसाइँ सरे पनि जग्गाजमिन र घर छोडेका छैनन्।
 
किमबोट गाउँमा उनको ३२० बोट सुन्तला छन्। यसमध्ये २५० बोटले फल दिइरहेका छन्। सुन्तलाको स्याहारसुसारका लागि उनी हरेक हप्ता गाउँ पुग्छन्। कँडेलले सुन्तलाखेती गर्न थालेको साढे तीन दशक बढी भयो। 

वि.सं. २०४७ मा ३५ हजार रुपैयाँ लगानी गरेर सुरु गरेको सुन्तलाखेती अहिले फस्टाएको छ। हरेक वर्ष आम्दानी बढ्दै गइरहेको छ। २०४७ सालमा कँडेलले सुन्तलाखेती सुरु गर्दा बागलुङ जिल्लामै सडक आएको थिएन। स्थानीय कासीराम कँडेलले बिहुँ क्षेत्रमा सुन्तलाखेतीको सुरुआत गरेका थिए। उनीबाटै सिकेर कँडेलले सुन्तला लगाएका हुन्। साठी वर्षीय कँडेलले १४ रोपनी क्षेत्रफलमा सुन्तलाखेती गर्दै आएका छन्।

गाउँको माया र सुन्तलाखेतीप्रतिको मोहले गर्दा बागलुङ छोडेर टाढा बसाइँ नसरेको कँडेल बताउँछन्। वरपरका छिमेकीले धमाधम गाउँ छोडेपछि आफूले पनि परिवार लिएर बागलुङ बजार आएको उनको भनाइ छ। बिरामी पर्दा नजिक उपचार गर्ने आशले मात्रै आफू बजार झरेको कँडेलले बताए। भएभरको सम्पत्ति गाउँमै रहेको जनाउँदै कँडेलले अहिले पनि सबैभन्दा धेरै सुन्तला उत्पादन गर्ने आफू भएको बताए।

'औषधिपानी खाने अस्पतालको नजिक भनेर बजार झरेको। हाम्रो नातागोता र छरछिमेकी सबै तराईतिर गए। हामीहरू चाँहि घरपायक पर्छ भनेर बागलुङ बजारमा आएको हो। यहाँबाट गाउँ नजिक छ। हरेक साता गाउँ जाने र सुन्तलामा मल पानी लगाउने, गोडमेल गर्ने काम गर्छु,' उनले भने, 'म बजारमा बस्ने भन्ने मात्रै हो, मेरो मन दिनहुँ गाउँमा हुन्छ। गाउँमा धेरै सुन्तला छ। अझ यो बेला टिप्नका लागि तयार हुँदै छ, चोर लाग्ने डर हुन्छ।'

कोदो, मकै फल्ने बारीभरि सुन्तला

अहिले लटरम्म सुन्तला फलेका बारीमा पहिले कोदो, मकै उत्पादन गरेर जीविकोपार्जन गरेको कँडेलले स्मरण गरे। मकै र कोदो उत्पादन गर्दा वर्षभरि खान नपुग्ने जनाउँदै अहिले सुन्तलाले जीवनस्तर नै परिवर्तन भएको कँडेल बताउँछन्। सुन्तलाखेतीबाट छोराहरू पढाएको सुनाउँदै अहिले सबै जापान, अमेरिका र पोर्चुगल रहेको उनले बताए।

सुन्तलाखेती गर्न थालेपछि कुनै पनि जग्गा बाँझो राख्न नपरेको कँडेलले बताए। सुन्तलाखेती गर्दाका बखत सडकले गाउँ नजोडिएको, डोकोमा बोकेर बागलुङ बजार ल्याएर बिक्री गरेको स्मरण गर्दै उनले अहिले त्यस्तो अवस्था नरहेको बताए। बसाइँसराइ गरेर तराई झरेकाहरूले पनि सुन्तलाको मायाले जग्गाजमिन नबेचेको उनले सुनाए।

उनले भने, 'सुरुसुरुमा ढोकोमा बोकेर बागलुङ बजार पुर्‍याउँथ्यौँ। अहिले व्यापारी बारीमै आएर बगानै किन्छन्। बगानै बिक्री गर्दा हामीहरूले उचित मूल्य पाउन सक्दैनौँ। व्यापारीलाई बगान नदिँदा बजार नपाएर कुहिने डर हुन्छ। राज्यले हाम्रो उत्पादनलाई उचित मूल्य दिएर बजारीकरण गरिदिने भए धेरै आम्दानी गर्न सकिन्थ्यो।'

जिल्लाकै बढी सुन्तला फलाउने लोकनाथ 

उनी बागलुङ जिल्लामै सबैभन्दा बढी सुन्तला उत्पादन गर्ने किसान हुन्। उनले गत वर्ष १३ लाख रुपैयाँको सुन्तला बिक्री गरेका थिए भने यस वर्ष १५ लाख रुपैयाँको बिक्री गरिसकेका छन्। थप दुई लाख रुपैयाँको परिवारले खानका लागि राखेको कँडेलले सुनाए।  तीस बोटबाट खेती सुरु गरेको जनाउँदै हरेक वर्ष नयाँ बिरुवा थप्दै गएको उनले बताए।

हालसम्म करिब २५ लाख रुपैयाँभन्दा बढी लगानी गरिसकेको कँडेलले बताए। अहिले किमबोट गाउँमा सुन्तलाखेती नगर्ने कोही पनि नभएको उनको भनाइ छ। पछिल्लो समय बिहुँ क्षेत्र सुन्तला गाउँका रूपमा पचिरित हुँदै गएको उनी बताउँछन्। यस वर्ष चितवन र धादिङका व्यापारीले सुन्तला बगान खरिद गरिसकेको कँडेलले बताए। सुन्तलाको दाना बढ्ने बेला असिना पर्दा केही क्षति भए पनि अघिल्लो वर्षको तुलनामा उत्पादन बढेको उनको भनाइ छ। रासस


प्रकाशित : सोमबार, पुस ७ २०८२१०:४७
  • सम्बन्धित विषय:

  • # सुन्तला
  • # सुन्तलाखेती
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend