काभ्रेपलाञ्चोक- अरनिको राजमार्गको सूर्यविनायक-धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा-धुलिखेल सडकको स्तरोन्नतिको कार्यलाई तीव्रता दिइएको छ।
गत मंसिर अन्तिम साता म्याद सकिएर पुनः एक वर्ष थपिएपछि स्तरोन्नति कार्यलाई तीव्रता दिइएको हो। आठ किलोमिटर दूरीको साँगा-धुलिखेल सडक विस्तारका लागि २०७९ मंसिर २७ गते सम्झौता भई २०८२ मंसिर २५ गते आयोजनाको म्याद सकिएको थियो। उक्त सडकखण्ड विस्तारका लागि लामा कन्स्ट्रक्सन प्रालिले चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का लिएको थियो।
उक्त अवधिमा ६० प्रतिशत मात्र काम सम्पन्न भएको सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजनाले जनाएको छ। सम्झौताअनुसार म्याद सकिँदा ४० प्रतिशत विस्तार कार्य अधुरो अवस्थामा रहेको हो।
कन्स्ट्रक्सनका मेनेजर रवीन्द्र श्रेष्ठका अनुसार साँगा-धुलिखेल खण्डमा समग्रमा ६० प्रतिशत तथा पिचबाहेक भौतिक प्रगति ९० प्रतिशत सम्पन्न भएको छ। हालसम्म धुलिखेल क्षेत्रमा करिब एक किलोमिटर र पुल बजार-जनागाल क्षेत्रमा करिब एक किलोमिटर सडक कालोपत्रे गरिएको छ भने पिचको कार्यलाई तीव्रता दिइएको हो।
यसअघि गत मंसिर तेस्रो साता डेढ वर्षदेखि रोकिएको सूर्यविनायक-धुलिखेल सडकखण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति कार्य सुरु गरिएको थियो। पुल बजार क्षेत्रमा 'सेन्टर लाइन'को विषयलाई लिएर स्थानीयले विवाद गरेपछि डेढ वर्षदेखि अवरुद्ध करिब तीन सय मिटर सडकको स्तरोन्नति कार्यलाई केही विषयमा सम्झौता गरेपछि पुनः निरन्तरता दिने सहमति भएको थियो।
सूर्यविनायक-धुलिखेल सडक आयोजनाका प्रमुख विजयकुमार महतोले साँगा-धुलिखेल पहिलो खण्डमा ६० प्रतिशत र दोस्रो सूर्यविनायक-साँगा खण्डमा भने ४५ प्रतिशत काम सकिएको बताए। आयोजनाका इञ्जिनियर विष्णुप्रसाद खनालका अनुसार जनागाल, बाँसघारी-डोल, साँगा-भैँसेपाटी, बनेपा बजारलगायतका क्षेत्रमा हाल कामलाई तीव्रता दिइएको छ। पुलबजार-जनागाल क्षेत्रको बनेपातर्फ दायाँतर्फ लम्बाइ आठ सय मिटर र चौडाइ १० मिटर कालोपत्रे सम्पन्न भइसकेको छ। बनेपाबाट साँगातर्फ बाँया लेनको कालोपत्रेको तयारी भइरहेको छ।
यस्तै हाल बाँसघारी-बुडोल क्षेत्रमा मेन लेनमा कटिङ र सर्भिस लेनमा ग्राभेलको काम भइरहेको छ। बनेपाको चाँदनी चोकमा कल्भर्ट राख्ने तयारी भइरहेको छ भने बनेपाको चण्डेश्वरी खोला क्षेत्रमा अहिले पर्खाल लगाउने, फिलिङ गर्ने काम भइरहेको खनालको भनाइ छ। साँगा-भैँसेपाटी क्षेत्रको ढुंगेधारामा अहिले कटिङको काम भइरहेको उनले जानकारी दिए।
सूर्यविनायक-धुलिखेल सडक विस्तार कार्य अन्तर्गत दोस्रो खण्ड सूर्यविनायक-साँगा ७ दशमलव ५ किलोमिटर विस्तारका लागि तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा ठेक्का लगाइएको थियो। उक्त खण्डको ठेक्का अवधि पनि आउँदो पुस १८ गते म्याद सकिँदै छ। साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि छ लेनमा विस्तार थालिएको हो। रासस
