काठमाडौं- बेलायतमा तपाईं के गर्नुहुन्छ? धेरैको बुझाइ हुन सक्छ, काम गर्ने अनि कमाउने। तर, दुई दशकदेखि बेलायत (यूके) मा बस्दै आएकी पुनम गुरुङको सन्दर्भमा यो बुझाइ विपरीत छ। उनी यो प्रश्नमा सधैँ एउटै उत्तर दिन्छिन्, 'बेलायतमा अरूले कमाउँछन्, म समाज सेवा गर्छु। अरूलाई सहयोग गर्छु, त्यो पनि निःस्वार्थ।'
काठमाडौंमा जन्मे-हुर्केकी उनी बिहेलगत्तै २३ वर्ष पहिले श्रीमानसँग बेलायत पुग्दा राम्रोसँग उभिएर बोल्न सक्ने आत्मबल थिएन। सुरुका केही वर्ष परिवारको हेरचार गर्दै र कोठामा बस्दै बेलायतको जीवन बित्यो। बेलायतको जीवनशैलीसँग सुरुमा भिज्न निकै कठिन थियो।
'न भाषा मिल्छ, न खानपान र जीवनशैली। आप्रवासन बस्दाको सुरुका दिनमा मानसिक समस्या झेल्नुपर्यो। यद्यपि, श्रीमानको साथ र सहयोगले बेलायतको सामाजिक परिवेशसँग भिजेर सामाजिक गतिविधिमा घुलमिल हुन थालेँ। न घुम्न सक्थेँ न बोल्न,' गुरुङले २३ वर्षअघि बेलायत जाँदाको क्षण सम्झँदै भनिन्, 'अहिले समाज सेवामा सक्रिय छु। आप्रवासनमा समस्या भोग्नुभएका जोकोही हुनुहुन्छ, मलाई सहयोगको आश गर्दै सम्झिनुहुन्छ। म सहयोग गर्न पाउँदा खुसी हुन्छ।'
पुनमको निःस्वार्थ सहयोग गर्ने औपचारिक यात्रा क्यान्सरपीडितलाई आर्थिक सहयोग जुटाउने कामबाट सुरु भयो। सन् २०१३ मा क्यान्सर रिसर्च यूकेमा उनले क्यासरपीडितलाई आर्थिक सहयोग जुटाउने दौडमा भाग लिए। मोटो ज्यान दौडिन सजिलो थिएन। तर, आफ्नो थोरै पहलले कसैको स्वास्थ्यमा योगदान मिल्छ भने प्रयास किन नगर्ने भन्ने मनसायमा उनले पाँच किलोमिटर दौडेर उठेको जति पनि रकम थियो त्यो क्यान्सर रिर्सच यूकेलाई दिइन्।
त्यसपछि निरन्तर निःशुल्क सेवा प्रदान गर्दै आएकी पुनम अहिले क्यान्सर रिसर्च यूकेको सद्भावनादूतका रूपमा जिम्मेवारी सम्हाल्दै क्यान्सरविरुद्ध जनचेतना अभियानमा सक्रिय छिन्।
दिनभरि घरमै बस्ने नेपाली समुदायका दिदीबहिनीलाई यस अभियानमा जोड्न थालिन्। 'त मुधि' संस्थामा आबद्ध भई त्यसैभित्रको आमा समूहको अध्यक्ष बनेर आफ्नो नेतृत्व क्षमता विकास गर्न थालिन्। 'आप्रवासन भएपछि आफ्नो देशको झनै माया र सम्झना आउने रहेछ,' उनले भनिन्, 'हामी दिदीबहिनी जम्मा भएर, एक कप कफीको मूल्य बराबर रकम जम्मा गरी समूह बनायौँ। रकम संकलन गर्न थाल्यौँ।'
यो आमा समूहले धेरै महिलालाई बोल्न र आफ्नो धारणा प्रस्टसँग राख्न सक्ने संस्कृतिको विकास गरेको गुरुङले बताइन्। यसको उपजका रूपमा उनको लोकप्रियता यतिसम्म बढ्दै गयो कि उनी सन् २०१९ मा गैरआप्रवासी नेपाली संघ (एनआरएन) यूकेको अध्यक्षमा निर्वाचत भइन्। योसँगै उनी एनआरन यूकेको प्रथम महिला अध्यक्ष हुने अवसरसमेत पाइन्।
'आमा समूहले नेतृत्वको महत्त्व बुझायो र समाज सेवाले लोकप्रियता बढाएको हुँदा आफू एनआरएनको अध्यक्षको पदसम्म पुग्न सक्ने भएकी हुँ,' उनले भनिन्।
महिलालाई नेतृत्व गर्न सक्ने उच्च पदमा पुग्न भने त्यति सजिलो नहुने गुरुङको अनुभव छ। निर्वाचित भइसकेपछि पनि कार्यशैली र कार्यसम्पादनमा थुप्रै चुनौतीको सामना गर्नुपर्ने उनले बताइन्। उनले भनिन्, 'सामान्यतया जनुसुकै क्षेत्रको उच्च पदमा भिड्न पुरुषलाईभन्दा महिलालाई धेरै कठिनाइको सामना गर्नुपर्दो रहेछ।'
नेपालमा छ महिना बिदा बस्दा यहाँको क्यान्सर अस्पताल पुगेर क्यान्सरविरुद्धको जनचेतना अभियानमा सहभागी भएकी गुरुङ बुबा क्यान्सरकै कारण बितेको स्मरण गरिन्। क्यान्सर लाग्नै नदिन पहिलो प्रयास गर्नुपर्नेमा जोड दिँदै उनले यदि लागिहाले सकारात्मक सोचेर आत्मबल बढाउनुपर्ने बताइन्।
बिदामा नेपाल आएकी पुनमले क्यान्सरपीडित बुबालाई गुमाउनुपर्यो। उनले यो रोग लाग्नै नदिन सचेतना अति आवश्यक रहेको बताउँदै आएकी छन्। नेपाल आएका बेला विभिन्न अस्पतालमा पुगी क्यान्सरविरुद्धको अभियानलाई सन्देशमूलक बनाउन खटिइन्। उनका अनुसार बेलायतमा प्रायः हरेक घरैपिच्छे एक जना क्यान्सरपीडित रोगी भेटिएकै हुन्छन्।
दैनिक काममा खटिनुपर्ने बाध्यता भएका परिवारले क्यान्सरपीडितको मनबोल बढाउने समय हुँदैन। त्यस्तो बेला पुनम सकेसम्म क्यानसरपीडितको घर पुगेर उनीहरूलाई रोगसँग लड्न सक्ने क्षमता बढाउन हिम्मत दिने काम गर्दै आएकी छन्।
'म यूकेमा काम गर्दिनँ, फुर्सद पाउनासाथ बुबाआमा वा बूढाबूढी र जो समस्यामा परेको छ उहाँहरूलाई समय दिन पुग्छु,' उनले भनिन्, 'उहाँहरू पनि समय पाएर खुसी हुनुहुन्छ, म उहाँहरूको खुसी देखेर झनै सेवा गर्न प्रेरित हुन्छु। सेवामै आनन्दित हुन्छु।'
पुनमको नेतृत्वदायी यात्रा 'तमु धि' आमा समूह, एनआरएन हुँदै विश्वप्रसिद्ध सुन्दरी प्रतियोगिता 'मिस वर्ल्ड-२०२३' को एम्बास्डरमा पनि मनोनीत भइन्। मिस वर्ल्डमा एम्बास्डर भएपछि मिस वर्ल्डको टिमले उनलाई सन् २०२३ को 'मिस वेल्स' सुन्दरी प्रतियोगिताको निर्णायकको जिम्मेवारी दिएको थियो।
पुनमले नेपाली मुलबाट सुन्दर प्रतियोगिताको यति फराकिलो क्षेत्रमा निर्णायकको जिम्मेवारी पाउनु आफैमा महत्त्वपूर्ण र उपलब्धिमूलक रहेको बताइन्। उनका अनुसार आप्रवासनले चुनौतीसँगै अवसरका थुपै्र ढोकाहरू खुल्छन्।
'त्यसका लागि संघर्ष भने गरिरहनुपर्छ। म जहाँ पुगे पनि नेपाली र नेपालीपनसँगै लैजान्छु,' उनले भनिन्। मधु शाही/रासस