काठमाडौं- सुक्खायाम सुरु भएसँगै नदी तथा खोलामा पानीको बहाव घट्न थालेपछि नेपालले दिउँसोको समयमा भारतबाट विद्युत् आयात गर्न थालेको छ।
स्वदेशी उत्पादनले दिउँसोको माग धान्न नसक्ने अवस्था आएपछि नेपाल विद्युत् प्राधिकरणले करिब एक सातादेखि दैनिक ६ लाख ७० हजार युनिट (६७० मेगावाट आवर) विद्युत् भारतबाट आयात गरिरहेको हो।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार हाल नेपालले दिनको समयमा भारतबाट विद्युत् आयात गरिरहेको छ भने रातिको समयमा भने भारततर्फ विद्युत् निर्यात गरिरहेको छ।
‘करिब एक सातादेखि दैनिक ६ सय ७० मेगावाट आवरसम्म विद्युत् आयात भइरहेको छ,’ शाक्यले भने, ‘दिनको समयमा पानी जम्मा गरेर उत्पादन गरिएको विद्युत् आन्तरिक माग कम हुने रातिको समयमा निर्यात गरिएको हो। साथै दिउँसो सस्तो मूल्यमा भारतबाट विद्युत् आयात भइरहेको छ।’
शाक्यका अनुसार हाल नेपालले दैनिक करिब ३३ लाख युनिट (३ हजार ३०० मेगावाट आवर) विद्युत् भारततर्फ निर्यात गरिरहेको छ।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले गत कात्तिक तेस्रो साता नेपाललाई भारतीय ऊर्जा एक्सचेञ्ज (आईईएक्स) मार्फत १ हजार ५४ मेगावाटसम्म विद्युत् खरिद गर्न सक्ने गरी स्वीकृति दिएको थियो। तर उक्त स्वीकृतिको म्याद ३१ डिसेम्बर अर्थात् पुस १६ सम्ममात्रै रहेको प्राधिकरणले जनाएको छ।
पुस १६ पछि विद्युत् आयातका लागि हालसम्म नयाँ स्वीकृति प्राप्त नभएको भए पनि आवश्यक प्रक्रिया अघि बढिसकेको र चाँडै स्वीकृति प्राप्त हुने शाक्यले बताए। उनका अनुसार स्वीकृति अवधि सकिएपछि निर्यात भने पूर्ण रूपमा बन्द भई आयात मात्रै गर्नुपर्ने अवस्था आउनेछ।
नेपालमा अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित रहेकाले वर्षायाममा उत्पादन उच्च हुन्छ। उक्त समयमा आन्तरिक माग पूरा भई भारत तथा बंगलादेशसम्म विद्युत् निर्यात गर्न सकिने अवस्था रहन्छ। तर हिउँद याममा नदीमा पानीको बहाव कम हुँदा विद्युत् उत्पादन घट्ने र स्वदेशी माग धान्न भारतबाट विद्युत् आयात गर्नुपर्ने बाध्यता रहने गरेको छ।
हाल नेपालको कुल जडित विद्युत् क्षमता करिब ३ हजार ८ सय मेगावाट रहेको छ भने अधिकतम माग करिब २ हजार २ सय मेगावाट रहेको प्राधिकरणको तथ्यांक छ। तर पानीको बहाव घटेसँगै पिक आवरमा उत्पादन क्षमता करिब २ हजार २ सय मेगावाटमा सीमित भएको शाक्यले जानकारी दिए।
गत वर्ष भारतले २० नोभेम्बरदेखि १५ मार्चसम्म ६ सय ५० मेगावाट विद्युत् खरिदका लागि स्वीकृति दिएको भए पनि पिक आवरमा आयात गर्न नपाउने शर्त राखेको थियो।
त्यसपछि १६ मार्चदेखि ३० जुनसम्म बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म १२ घण्टाका लागि ६५४ मेगावाट आयातको अनुमति दिइएको थियो। पछि पहलपछि राति ११ बजेदेखि बिहान ४ बजेसम्म पनि आयात गर्न पाउने सुविधा थपिएको थियो। यसवर्ष पनि त्यस्तै प्रकृतिको स्वीकृति प्राप्त हुने अपेक्षा प्राधिकरणले गरेको छ।
