बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगंगा ढोरबराह

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस ६ २०८२
धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगंगा ढोरबराह

बागलुङ- हिन्दु धर्मग्रन्थमा उत्तरतर्फ बगेका नदीलाई महातीर्थका रूपमा लिने गरिएको छ। संसारमा समान्यतः उत्तरतर्फ बगेका नदी निकै कम छन्। तिनै दुर्लभ उत्तरबाहिनी नदीमध्येमा बागलुङको ढोरपाटनस्थित उत्तरंगा नदी पनि एक हो। उत्तरबाहिनी गंगाको मुहानमा रहेको उत्तरंगा ढोरबराहलाई यस क्षेत्रकै महत्त्वपूर्ण तीर्थ मानिन्छ।

उत्तरगंगा धामका रूपमा समेत चिनिएको यो तीर्थस्थलमा विशेषतः जनैपूर्णिमा र वैशाख शुक्ल पूर्णिमाका दिन विशेष मेला लाग्ने गरेको मन्दिरका पुजारी चामबहादुर बुढाले जानकारी दिए। उत्तरतर्फ भई बग्ने उत्तरगंगा नदीको मुहान नै उत्तरंगा ढोरबराह भएको जानकारी दिँदै उनले यहाँ आएर दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वास रहेको बताए।

यस स्थलमा हरेक वर्ष जनैपूर्णिमा र वैशाख पूर्णिमाका दिन मेला भर्न बागलुङसहित पर्वत, म्याग्दीलगायत जिल्लाका साथै कास्की, स्याङ्जालगायतका स्थानबाट दर्शनार्थीहरू आउने गरेका छन्। मेलाका अवसरमा भक्तजनले भेडाको बलिसहित पूजाआजा गर्दै आएको उनले जानकारी दिए। मेलामा सहभागी बन्नका लागि आउने भक्तजनले ढोरबराहमा पूजा गर्नुअघि यहाँ आउने बाटोमा रहेको रुद्रावती गंगाको उद्गमस्थल रुद्रतालमा स्नान एवं पूजा गर्दै ढोरपाटन देउरालीमा पाती चढाएर जाने प्रचलन छ। 

यहाँ वर माग्ने पनि अनौठो मौलिक परम्परा छ। उत्तरगंगा ढोरबराहमा वर माग्न आउनेहरू सबैभन्दा पहिले रुद्रतालमा र त्यसपछि देउराली भञ्ज्याङमा रहेको देउराली थानमा धजा चढाउने गर्दछन्। त्यहाँबाट आएर यहाँका बाइसधारामा नुहाएर बराह मूलमा गएर बत्ती बालेर फूलपाती, अक्षताले भगवान शिवको बाहन बहरे गोरुलाई पूजा गरी २२ वटा ध्वजा चढाउँछन्। 'यहाँ आएर दर्शन गरेमा सन्तान नभएकालाई सन्तान प्राप्त हुने, नबोलेका बच्चा बोल्ने आदि विश्वास रहेको छ,' उनले भने, 'रोजगारी प्राप्ति, राम्रो स्वास्थ्य आदिको कामना गर्दै पनि यहाँ दर्शनार्थी आउने गरेका छन्।'

पूजा गर्ने क्रममा बराहमूलको कुण्डमा बुलबुल गरेर पानीका फोका उठेमा राम्रो भएको मानिने, फोका नउठेमा ग्रहदशा बिग्रेको मानिने जनविश्वास छ। ढोरबराह मन्दिरमा रहेका बाइसधारा कहिल्यै पनि नसुक्नु यहाँको अर्को विशष्टिता हो। बाइसधारामा स्नानसहित पूजाआजा गर्ने र धाराको जल घरमा लगेर छर्केमा विभिन्न किसिमका अनिष्टबाट मुक्त हुने जनविश्वास रहेको पुजारी बुढाले जानकारी दिए। कतिपयले आफन्तको स्वर्गारोहण भएमा जन्मकुण्डली उत्तरगंगामा बगाउने प्रचलन पनि रहेको बूढापाकाहरू बताउँछन्।

पछिल्लो समय ढोरपाटनसम्म आउने बाटो सहज बन्दै गएपछि टाढा-टाढाबाट दर्शनार्थीहरू आउने क्रम बढ्दै गएको उत्तरगंगा ढोरबराह संरक्षण समितिका पूर्वसदस्य रामबहादुर घर्तीमगरले जानकारी दिए।  पछिल्ला दुुई-तीन वर्षयता दर्शनार्थी तथा पर्यटक आउने क्रम बढिरहेको बताउँदै उनले स्वदेशी पर्यटकका साथै विदेशी पर्यटकको आगमन पनि बढिरहेको जानकारी दिए।

'दर्शनार्थीसँगै स्वदेशी तथा विदेशी पर्यटक पनि आउन थालेपछि यहाँका स्थानीयले पर्यटक लक्षित होटेल तथा घरबासका लागि पनि लगानी बढाउँदै गएका छन्,' ढोरपाटन सामुदायिक होमस्टेका सञ्चालकसमेत रहेका मगरले भने, 'पर्यटकीय चहलपहलले स्थानीयवासीको उत्पादन खपत हुनुुका साथै यसले विभिन्न किसिमका रोजगारीसमेत सिर्जना गरेको छ।'

नेपालको एक मात्र शिकार आरक्षका रुपमा रहेको ढोरपाटन शिकार आरक्षभित्र रहेका कारण पनि यो पर्यटकीय रूपमा अर्को आकर्षण हो। ठूलो उपत्यकाको दक्षिणतर्फ अवस्थित सुर्तिवाङ पहाडको उत्तरतर्फबाट उत्तरगंगाको र दक्षिणपट्टि रहेको रुद्रतालबाट रुद्रवतीगंगाको उत्पत्ति भएका कारण समग्र यस क्षेत्रको धार्मिक महत्त्व छ। रुद्रतालमा सतिदेवीको रुद्र अर्थात् घाँटी पतन भएको हुँदा रुद्रतालबाट जलप्रवाह भएर रुद्रबतीगंगा, बडिगाड खोला हुँदै कालीगण्डकीमा मिसिएको ठाउँलाई रुद्रवेणी अर्थात् रुरुक्षेत्रका रूपमा लिने गरिएको अर्का स्थानीय वेगबहादुर विकले जानकारी दिए।

सुर्तिवाङ पहाडको देउराली भञ्ज्याङमा रहेको ठाडो ढुंगामा साउनको पहिलो हप्ता गाईको दूधले धार दिएपछि मात्रै बर्खाको समयमा सुर्तिवाङमा चरनको लागि लगेका गोठमा खिर, कुराउनी र ताईरोटी पकाउने प्रचलन रहेको स्थानीयवासी बताउँछन्। उत्तरगंगा ढोरबराहमा यहाँको पूजाआजाको व्यवस्थापनका लागि प्रत्येक वर्ष बोलपत्र आह्वान गर्ने गरेको उत्तरगंगा ढोरबराह संरक्षण समितिका पूर्वसदस्य घर्तीले जानकारी दिए। 

पूजाका लागि जिम्मा पाएको व्यक्तिले मन्दिरमा पूजा गर्न आउने दर्शनार्थीले चढाउने भेटीघाटीका साथै भेडाको बलि दिने क्रममा टाउँको बिक्रीबाट आम्दानी गर्ने गर्दछन्। सामान्यतः जनैपूर्णिमाका दिन एक हजारभन्दा बढी भेडाको बलि हुने गर्दछ भने वैशाख पूर्णिमामा पाँच सय भन्दा बढी भेडाको बलि हुने गर्दछ। अघिपछि पनि विभिन्न तिथि पारेर भाकलसहित पूजाआजा गर्न दर्शनार्थी आउने गर्दछन्।

मालपोत कार्यालयले प्रत्येक वर्ष जेठको १५ गतेदेखि ३० गतेसम्म समयावधि तोकेर बढाबढका लागि सूचना निकाल्ने गरेको उनले जानकारी दिए। अघिल्लो वर्ष बढाबढका क्रममा १२ लाख रुपैयाँको बोलपत्र स्वीकृत भएको थियो। मन्दिरको संरक्षणसँगै पछिल्लो समय यहाँको भौतिक पूर्वाधार विकासका लागि पनि राज्यको चासो बढेको उनले जानकारी दिए। मन्दिर परिसरमा जलकुण्डसहित पार्क निर्माणका साथै पाटनका ठाउँ-ठाउँमा परम्परागत शैलीका पुल निर्माण भइरहेको उनले बताए। 

उत्तरगंगा ढोरबराहको धार्मिक महत्त्वका विषयमा विभिन्न हिन्दु धर्मग्रन्थमा उल्लेख भएको पाइन्छ। हिन्दु धर्मग्रन्थमा उल्लेख भएअनुुसार परापूर्वकालमा एक जना निकै चलाख र बुद्धिमान कागभुसुण्डी नाम गरेका ऋषि कागको रूप धारण गरेर उत्तरगंगा ढोरबराहमा आई तपस्या गरी बसेका थिए। तपस्याका क्रममा उनी भगवान शिवको सम्पर्कमा बसेका थिए र एक दिन भगवान शिवले माता पार्वतीलाई रामकथा सुनाउँदा उनले पनि सुनेका थिए।

वशिष्ठ ऋषिले राजा रामलाई यही पुण्यभूमिमा आएर कागभुसुण्डीसँग शिक्षा लिएमा तिमी धर्म, अर्थ, काम, क्रोधबाट मोक्ष हुनेछौँ भनी बताएका थिए। कागभुसुण्डी ऋषिले यहाँ र मुक्तिनाथ दुवै ठाउँमा तपस्या गरी बसेको भन्ने शास्त्रहरूमा उल्लेख गरेको हुँदा मुक्तिनाथ र उत्तरगंगा ढोरबराह दुई दाजुभाइ हुन् भन्ने लोकोक्ति पनि छ। 

त्यस्तै यहाँको अर्को लोकोक्ति बलि राजासँग जोडिएको छ। बलि राजाले म स्वर्गको राजा हुन पाऊँ भनी १२ वर्ष तपस्या गरेका थिए। उनको तपस्या असार मसान्तका दिन पूरा हुँदै थियो तर भगवान विष्णुले उनलाई स्वर्गको राजा हुनबाट रोक्न तपस्या भंग गरिदिए। उनले बलि राजालाई तिमीलाई स्वर्ग मिल्दैन तर स्वर्गजस्तै सुन्दर ठाउँ मिलाइदिन्छु भनी ढोरपाटनमा ढकमक्क फूल फुलेको समय जनैपूर्णिमाको दिन पारेर बराहको रूपमा प्रकट गराएका थिए भन्ने उल्लेख छ। बलि राजाको कठोर तपस्याले गर्दा उत्तरगंगा ढोरबराहको उत्पत्ति भएको हो भन्ने धार्मिक विश्वास छ। वासुदेव पौडेल/रासस


प्रकाशित : आइतबार, पुस ६ २०८२१५:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend