काठमाडौं- अर्थ मन्त्रालयले जनकपुर चुरोट कारखानाको सम्पत्ति मूल्यांकनका लागि परामर्शदाता छनोट गरेको छ।
६ दशकको विरासत बोकेको जनकपुर चुरोटको सम्पत्ति मूल्यांकन परामर्शका लागि ८ कम्पनीको चासो रहेको थियो। सोही ८ वटा कम्पनीबाट मन्त्रालयले 'एस सुवेदी एण्ड एसोसिएट्स कम्पनी'लाई जनकपुर चुरोट कारखानाको सम्पत्ति मूल्यांकनको जिम्मा दिएको हो।
अब यही कम्पनीले जनकपुर चुरोट कारखाना व्यवस्थापका लागि सम्पत्तिको मूल्यांकन गर्ने छ। अर्थ मन्त्रालयले चुरोट कारखानाको सम्पत्ति मूल्यांकनका लागि असार ६ गते चासो राख्ने कम्पनीहरुसँग आवेदन मागेको थियो। करिब ६ महिना लगाएर मन्त्रालयले कारखानाको सम्पत्ति मूल्यांकनका लागि परामर्शदाता छनोट गरेको हो।
चुरोट काराखाना व्यवस्थापनका लागि प्रक्रिया सुरु गर्न तत्कालीन केपी शर्मा ओली नेतृत्वमा रहेको मन्त्रिपरिषद् बैठकले सहमतिसमेत दिइसकेको थियो। मन्त्रिपरिषदको सहमतिलगत्तै अर्थ मन्त्रालयले कारखानाको मूल्यांकन प्रक्रिया थालनी गरेको थियो।
२०६८ चैतदेखि उत्पादन बन्द भएको कारखाना २०७० असार २० देखि पूर्णरूपमा बन्द भयो। खिलराज रेग्मी नेतृत्वको तत्कालीन सरकारले जनकपुर चुरोट कारखानामा कार्यरत कर्मचारीहरूलाई अवकाश दिने निर्णय गरेसँगै उद्योग पूर्णरुपमा बन्द छ। त्यसयता माओवादी नेता जनार्दन शर्मा अर्थमन्त्री भएका बेला कारखाना सञ्चालनको लागि केही प्रयास भएको थियो।
कारखानाको सुरुवाती चरणमा अधिकृत पुँजी ८ करोड र जारी तथा चुक्ता पुँजी ४ करोड ८ लाख ३७ हजार रुपैयाँ थियो। २०२१ सालको पुसमा सञ्चालनमा आएको चुरोट कारखाना ३३ बिघा ९ कट्ठा क्षेत्रफलमा फैलिएको छ।
जनकपुर चुरोट कारखानाले सुरुवाती चरणमा देउराली, याक र गैँडा गरी तीन प्रकारका चुरोट उत्पादन गरेको थियो। जुन बजारमा लोकप्रिय भएको थियो।