मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस ६ २०८२
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

बाघ गणनाका लागि पाँचवटा राष्ट्रिय निकुञ्ज र निकुञ्जबाहिरका क्षेत्रलाई समेत समेटेर तीनवटा 'कम्प्लेक्स' बनाइएको निकुञ्ज कार्यालयले जनाएको छ।

कञ्चनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ। 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले देशभर बाघ गणना सुरु गरेसँगै शुक्लाफाँटा निकुञ्जले पनि गरको हो। बाघ गणनाका लागि पाँचवटा राष्ट्रिय निकुञ्ज र निकुञ्जबाहिरका क्षेत्रलाई समेत समेटेर तीनवटा 'कम्प्लेक्स' बनाइएको निकुञ्ज कार्यालयले जनाएको छ।  

हाल चितवन-पर्सा कम्प्लेक्स र बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघ गणना भइरहे पनि शुक्लाफाँटा तेस्रो कम्प्लेक्समा रहेकाले उक्त स्थानमा गणना सकिएपछि यहाँ सुरु गरिने निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए। उनका अनुसार तेस्रो कम्प्लेक्सअन्तर्गत शुक्लाफाँटामा बाघ गणना हुनेछ। 

'त्यसका लागि निकुञ्ज कार्यालयको जनशक्ति तयारी अवस्थामा राखेको छ। बाघ गणनाका लागि निकुञ्जका तर्फबाट सबै तयारी पूरा भइसकेको छ, आवश्यक जनशक्तिसहित हामी तयारी अवस्थामा छौँ,' उनले भने, 'विभागबाट तालिम सञ्चालन भइसकेको छ। पहिलो र दोस्रो कम्प्लेक्समा गणना सकिएर क्यामेरा यहाँ आएपछि गणना सुरु हुन्छ।' 

पछिल्लो समय शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ्दै गएको छ। सन् २०२२ मा गरिएको राष्ट्रिय गणनाअनुसार शुक्लाफाँटामा ३६ वटा बाघ थिए। तर, निकुञ्ज कार्यालयको आन्तरिक अनुगमनमा यस वर्ष ४३ बाघ फेला परेका छन्।  

'निकुञ्ज कार्यालयले पनि हरेक वर्ष बाघको सुपरिवेक्षण गर्छ,' सूचना अधिकारी वाग्लेले भने, 'शुक्लाफाँटा सानो क्षेत्रफलमा भए पनि बाघको आहारा प्रजातिको घनत्व पर्याप्त रहेकाले यहाँ बाघको संख्या बढेको हो।' 

उनका अनुसार निकुञ्जमा आहारा प्रजातिको घनत्व १४६ प्रतिवर्गकिलोमिटर छ। वन्यजन्तु र दुर्लभ वनस्पतिको लागि प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ। रासस


प्रकाशित : आइतबार, पुस ६ २०८२१४:५१
  • सम्बन्धित विषय:

  • # शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज
  • # बाघ
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend