मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

बागमतीमा तैरिने फोहर संकलन गर्न 'ट्रास बेरियर' जडान

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस ६ २०८२
बागमतीमा तैरिने फोहर संकलन गर्न 'ट्रास बेरियर' जडान

ट्रास बेरियरले नदीको सतहमा तैरिने प्लाष्टिक, पोलिथिन, बोतल, काठका टुक्रालगायत फोहरलाई रोक्ने र एक निश्चित स्थानमा जम्मा गराउने काम गर्दछ।

काठमाडौं- सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहर  संकलन गर्न 'ट्रास बेरियर' जडान गरेको छ। 

गुह्येश्वरीबाट ट्रास बेरियर जडान सम्पन्न गरी बागमती नदीका पाँच स्थान क्रमशः गोकर्ण ब्यारेज, गुह्येश्वरी, तिलगंगा आँखा अस्पताल, बागमती मनहरा दोभान, यूएन पार्क र मनोहरा नदीको कर्मनाशा दोभानमा एक स्थान गरी जम्मा छ स्थानमा ६५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेर ट्रास बेरियर राख्न थालिएको हो। 

सहरी विकासमन्त्री कुलमान घिसिङको निजी सचिवालयका अनुसार ट्रास बेरियरले नदीको सतहमा तैरिने प्लाष्टिक, पोलिथिन, बोतल, काठका टुक्रालगायत फोहरलाई रोक्ने र एक निश्चित स्थानमा जम्मा गराउने काम गर्दछ।

काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, मनोहरा र धोबीखोला नदीहरूमा सहरीकरण, अव्यवस्थित फोहर व्यवस्थापनका कारण ठूलो मात्रामा तैरिने फोहर बग्ने गरेको पाइएको छ। यस्ता नदीमा ट्रास बेरियर जडान गर्दा नदीको बहावलाई अवरुद्ध नगरी फोहर मात्र निकाल्न सकिन्छ जसले गर्दा नदी प्रदूषण न्यूनीकरण गर्न सहयोग पुग्दछ। 

ट्रास बेरियरबाट संकलित फोहरलाई नियमित रूपमा निकालेर वर्गीकरण, पुनः प्रयोग तथा सुरक्षित रूपमा व्यवस्थापन गर्न सकिन्छ। यसले नदी प्रदूषण न्यूनीकरण गर्नुका साथै नदीको सौन्दर्य, जलजीवको संरक्षण र सार्वजनिक स्वास्थ्यमा सकारात्मक योगदान पुग्ने देखिन्छ।

नदीको सतहमा तैरिने प्लाष्टिक, पोलिथिन, बोतल, काठका टुक्रालगायत फोहर वस्तुलाई नदीको बहावलाई अवरुद्ध नगरी रोक्ने र पानीको सतह घटबढसँगै ट्रास बेरियरको सतह आफै तलमाथि हुने ढंगले रबरको कन्भेयर बेल्ट र तैरिने भागसहितको संरचना जडान हुनेछन्। रासस


प्रकाशित : आइतबार, पुस ६ २०८२१४:१०
  • सम्बन्धित विषय:

  • # ट्रास बेरियर
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend