काठमाडौं- नेपाली कांग्रेसले नवलपरासी–१ बाट प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ विनोद चौधरीको नाम एकल रूपमा सिफारिस गरेको छ।
अघिल्लो निर्वाचनमा निर्वाचित भएका चौधरीलाई आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनका लागि पुनः प्रत्यक्षतर्फ अघि सारिएको हो।
लुम्बिनी प्रदेश कार्यसमितिको बैठकले जिल्लाबाट प्राप्त सिफारिसहरू आवश्यक सुझावसहित केन्द्रमा पठाउने निर्णय गरेको छ। जिल्ला क्षेत्र नं. १ को कार्यसमितिबाट चौधरीसँगै अर्का नेता विक्रम खनालको नाम पनि प्रत्यक्षतर्फ सिफारिस भएको थियो। तर पार्टीको केन्द्रीय अनुशासन समितिबाट साधारण सदस्य नै नरहने गरी कारबाहीमा परेकाले खनालको नाम केन्द्रमा नपठाइएको प्रदेश कार्यसमितिले जनाएको छ।
खनाल नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका महामन्त्री थिए। पार्टीको कारबाहीसँगै उनको जिम्मेवारी खोसिएको थियो। प्रदेश कार्यसमितिको निर्णयमा भनिएको छ, ‘नेपाली कांग्रेस जिल्ला क्षेत्र नं. १ को कार्यसमितिबाट आएको सिफारिसमा केन्द्रीय अनुशासन समितिबाट कारबाहीमा परेका विक्रम खनालको नाम उल्लेख भएकाले सिफारिस गर्न नमिल्ने अवस्था देखिएको हुँदा उक्त नाम सिफारिस नगरिएको हो।’
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नवलपरासी–१ बाट विनोद चौधरी नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए।
