बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पर्यटन प्रवर्द्धनको संयुक्त प्रयासमा जुटे गोरखा र लमजुङका पालिका

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस ६ २०८२
पर्यटन प्रवर्द्धनको संयुक्त प्रयासमा जुटे गोरखा र लमजुङका पालिका

गोरखा- गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल-हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिका जुटेका छन्। सो ट्रेलअन्तर्गत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालिका तथा लमजुङका दोर्दी, दूधपोखरी र मर्स्याङ्दी गाउँपालिका संयुक्त रूपमा पदमार्गमा आधारित पर्यटन विकास तथा प्रवर्द्धनमा जुटेका हुन्।

सो पदमार्गमा जोडिने पाँचवटा पालिकाले पर्यटन पदमार्गको दिगो विकास योजना बनाउन, पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा चिरपरिचित गराउन, पर्यटन पूर्वाधार निर्माण गर्न अघि बढ्ने प्रतिबद्धता गरेका छन्।

ती पालिकालाई नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) अन्तर्गतको दिगो पर्यटन परियोजना (एसटीपी) तथा ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) ले एकजुट गराएको छ। गत बिहीबार, शुक्रबार र शनिबार तीनदिने गोष्ठीमा सहभागी गराई सम्बन्धित पालिकालाई पर्यटन विकासमा जाग्न प्रोत्साहन गरेको हो।

बुद्ध हिमाल-हिमालचुली ग्रेट लेक सर्किट ट्रेलले बुद्ध हिमाल, हिमचुली, मनासिरी हिमशृंखला तथा उच्च हिमताललाई समेट्दै नयाँ अन्तर्राष्ट्रिय ट्रेकिङ गन्तव्यको विकास गर्ने विश्वास गरिएको छ। यसबाट स्थानीय समुदायमा आधारित दिगो पर्यटन प्रवर्द्धन गर्ने विश्वास त्यहाँका स्थानीय पालिकाहरूको छ। 

साथै यस क्षेत्रलाई पर्यटन हबका रूपमा विकास गर्ने, पुराना पदमार्ग, गोठालो बाटो र सांस्कृतिक रुटको पहिचान, ट्रेल सुधार, पुल, सिँढी, सुरक्षित बाटो निर्माण, फोहर व्यवस्थापन, खानेपानी, भरियाघर निर्माण, हिमताल, पास तथा जोखिमयुक्त क्षेत्रको सुरक्षा योजना तयार गर्ने लक्ष्य गोष्ठीले राखेको छ।

भच्चेकमा शनिबार सम्पन्न गोष्ठीमा बुद्ध हिमाल-हिमालचुली ग्रेट लेक सर्किट ट्रेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न सो सर्किट सञ्चालनमा ल्याउन कार्ययोजना बनाउनेबारे तीनदिने गोष्ठी तथा तालिम सञ्चालन भएको अजिरकोट गाउँपालिकाकी उपाध्यक्ष अनिता भुजेलले बताइन्। तालिममा पाँचवटै गाउँपालिकाका उपप्रमुख तथा सम्बन्धित शाखाका प्रमुखले सहभागिता जनाएका थिए।

तालिममा टानका केन्द्रीय अध्यक्ष सागर पाण्डे, केन्द्रीय सदस्य राजेन्द्र अम्गाईँ, केन्द्रीय सदस्य तथा तालिम विभागका सहसंयोजक अम्बिरबहादुर गुरुङ, टानका निवर्तमान उपाध्यक्ष तथा अजिरकोट गाउँपालिकाका पर्यटन सदभावना दूत धनबहादुर गुरुङ, केन्द्रीय सदस्य पवित्रा तामाङ, परियोजनाका संयोजक युवराज लामा, प्रमुख प्रशिक्षक डा. चेतनाथ कँडेल, प्रशिक्षक कृष्ण गौतमलगायत सहभागी थिए। रासस


प्रकाशित : आइतबार, पुस ६ २०८२१३:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend