महोत्तरी- मंसिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको महोत्तरीको जनजीवन पुस लागेयता बढ्दै गएको जाडोले कष्टकर बनेको छ।
पुस लागेसँगै ह्वात्तै बढेको चिसोले गरिब बस्तीमा बढी असर परेको छ। जिल्लाको दक्षिणी क्षेत्रमा पुस लागेसँगै बिहानदेखि नै मध्याह्नसम्म बाक्लो हुस्सुले ढाकेर चिसो बतास चल्न थालेपछि गरिब बस्तीको जनजीवनमा असर परेको हो।
'यतातिर गत बुधबारदेखि नै मध्याह्नसम्म बाक्लो हुस्सुले ढाक्दै आएको छ। लगातारको चिसो बतासले काममा निस्कन सकिएको छैन,' जिल्लाको सुदूर दक्षिणपूर्वी भेगको मटिहानी-८ का ३० वर्षीय युवा इसराफूल राइन भन्छन्, 'यसले जीवन गुजारामै सकस बढाएको छ।'
जिल्लाको दक्षिणी क्षेत्रमा पुस लागेसँगै हुस्सु बढे पनि सुदूर उत्तरी क्षेत्रमा भने गत शुक्रबारदेखि यो क्रम बढेको हो। बर्दिवास, गौशाला, औरही र भंगाहा नगरपालिका क्षेत्रमा गत बिहीबारसम्म झलमल्ल घाम लागको थियो।
'बिहीबारसम्म त कति राम्रो मौसम थियो, शुक्रबार एक्कासि डम्म हुस्सुले ढाक्यो। त्यसयता जाडो निकै बढ्यो,' गौशाला-१० बटौवा बस्तीका ७० वर्षीय लक्ष्मीप्रसाद कुशवाहा भन्छन्, 'बढ्दो चिसोले अब धेरै टिकिन्न कि जस्तो बनाइसक्यो।'
मध्याह्नपछि हुस्सु फाट्दै गए पनि पारिलो घाम लाग्न नसक्दा र दिनभरि नै चिसो बतास चलिरहँदा जाडोले कुनै काममा निस्कन नसकेको उनको भनाइ छ।
बढ्दो चिसोले गरिब बस्तीमा अत्यधिक असर परेको छ। अहिले मुसहर, डोम, हलखोर, मेस्तरसहितका अति पिछडिएका गरिब जाति समुदायका बस्तीमा सडकमा फालिएका झुत्रा लुगा, प्लाष्टिक र झिक्राझिक्री बालिने 'घुर' मात्र सहारा बनेको छ।
'लकडीकाठी (दाउरा) कहीँ पाइँदैन, कोही फर्केर हेर्न आउँदैनन् , के गराैँ? यही घुरको धुवाँ तापेर जाडो काट्नु परेको छ,' भंगाहा-४ रामनगरको मुसहरीटोलकी हेमनी सदा मुसहरले भनिन्।
बिहानीपख लाग्ने हुस्सुले सडक यातायात र हवाई यातायात सेवामा पनि असर पर्न थालेको छ। बाक्लो हुस्सुकै कारण मध्याह्नअघिका धेरैजसो हवाई सेवामा असर परिरहेको हो। मध्याह्नसम्म हुस्सु राम्ररी फाट्न नसक्दा विमान अवतरणमा समस्या हुने भएर बिहानी सेवा रोकिने गरेको जनकपुर विमानस्थल कार्यालयले जनाएको छ।
यस्तै एकाबिहानैको समयका सार्वजनिक सडक यातायातका साधनलाई पनि हुस्सु छिचोल्न नसक्दा ठाउँ-ठाउँमा रोकिनुपरेको चालक बताउँछन्। बाक्लो हुस्सुसँगैको चिसो हावा बहने क्रमले बिहान-बेलुका जाडो निकै छिप्पिएको छ।
चिसो निकै बढेपछि खेतीपाती र बन्दव्यापारका काम ठप्पझैँ भएका छन्। मध्याह्नपछि झल्याकझुलुक देखिने घाम मधुरो हुने र चिसो सिरेटो लगातार चलेपछि बाहिरफर निस्कन गाह्रो बन्दै गएको छ। यसले बजारको चहलपहल देखिन छाडेको गौशाला-५ गौशाला बजारका व्यापारी अजय साह बताउँछन्।
एक्कासि बदलिएको मौसमले व्यापार व्यवसाय मात्र नभएर नियमित खेतीपातीका काममा बिहानैदेखि लाग्न नसकिएको किसान बताउँछन्। पुसमै यस्तो चिसो बढेपछि यहाँका बूढापाका अझ पछिका दिन कस्तो होला भन्दैछन्।
'अहिले नै जाडोले धर्मराएको छ। पुस अझै निकै बाँकी छ। १५ माघ नलागी पारिलो घाम देखिने छाँट छैन। खै कसरी दिन कट्ने हुन्?,' भंगाहा-५ सीतापुर बजारमा बस्दै आएका ८५ वर्षीय हाजी विहारी अन्सारी भन्छन्, 'चिसोले उठ्न-बस्न पनि नसकिने भइयो, दुःख पाइने छाँट छ।'
बढ्दो जाडोले यस भेगका गरिब र दलित बस्ती बढी जोखिममा देखिन्छन्। दैनिक ज्यालादारी गरेर गुजारा गर्नुपर्ने श्रमिकलाई बिहानको काममा जान सकस परिरहेको छ। काममा जान नपाएपछि यो सोझै गुजारासँग जोडिने हुँदा गरिब बस्तीमा भोकभोकै बस्नुपर्ने अवस्था पनि बन्दै छ।
'मुटु कमाउने जाडो छ, कसरी काममा निस्कने होला?,' औरही-७ भोइलटिम्कियाका ६० वर्षीय घुरन सदा भन्छन्, 'बनी गर्न ननिस्के मुखमा माड लाग्दैन, अब भोकभोकै पर्ने बेला आउने भयो।' जाडो सबैलाई उत्तिकै भए पनि आफूहरूको गरिबीले सम्हालिन नसकेर दुःख बढेको उनी बताउँछन्।
चिसो बढ्दै जाँदा वृद्धवृद्धा, सुत्केरी र स-साना नानीहरूको स्याहार-सम्भार कठिन भएको छ। घरमा पोषणयुक्त ताजा खाना, न्यानो लुगा र घरवरपर सरसफाइमा कमी हुँदा पराले झुप्राका बस्तीहरू बढ्दो जाडोले बढी असरमा परेका छन्।
यसैबीच महोत्तरीका स्वास्थ्य संस्थाले धमाधम सूचना प्रसारण गराएर चिसोमा आफ्नो घरपरिवारको स्याहार-सम्भारमा ध्यान दिन आग्रह गरेका छन्। घरमा आफ्नै वरपर पाइने सागपात र गेडागुडीको झोल खान, बिहान-बेलुका अत्यन्त जरुरी काम नपरी बाहिर ननिस्कन, न्यानो ठाउँमा बस्न र घरवरपरको सरसफाइमा ध्यान दिन स्वास्थ्य संस्थाको तर्फबाट सूचना जारी गरिएका छन्।
यसबाहेक फोहर कपडा, मिल्किएका कसिंगर, झुत्रा प्लाष्टिक र चिसो झ्यास सल्काएर आगो नबाल्न आग्रह गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। यस्तो आगो बालिएको ठाउँबाट निस्कने धुवाँले पुराना बिरामीको श्वासप्रश्वासको समस्या झनै बढाउने र नयाँमा थपिने स्वास्थ्य कार्यालय प्रमुख नवलकिशोर साह बताउँछन्।
चिसोले जनजीवन कष्टकर बनाउन थालेपछि गरिब र दलित बस्तीमा बिहान-बेलुका जाडो छल्ने उपायका लागि पहलकदमी लिन स्थानीय तहसँग सामाजिक संघसंस्थाले आग्रह गरेका छन्। असहाय र गरिब बस्तीमा आगो ताप्ने दाउराको प्रबन्ध गर्नु पहिलो प्राथमिकता रहेको बर्दिवास हेल्प फाउण्डेशनका अध्यक्ष कुमार भण्डारीको भनाइ छ। यस कार्यमा स्थानीय तहले स्थानीय प्रशासनसँग समन्वय गरेर आवश्यक प्रबन्ध जुटाउनपर्ने भण्डारीको सुझाव छ।
यससँगै गरिब बस्तीमा न्यानोको प्रबन्ध र खानपिनका कुरामा पनि सहयोग गर्न सकिने गरी तयारी गर्न आवश्यक रहेको उनी बताउँछन्।
यसैबीच जिल्ला समन्वय समितिको कार्यालयले जिल्लाका १५ वटै स्थानीय तह र जिल्ला दैवी प्रकोप उद्धार समितिसँग चिसोबाट बर्सेनि हुँदै आएको जनधनको क्षति यसपालि हुन नदिन पूर्वसतर्कता र आवश्यक तयारीका लागि आग्रह गरेको छ ।
'अब चिसोले प्रभाव बढाउँदै लग्यो, यसअनुरूप हाम्रो तयारी आवश्यक छ,' जिल्ला समन्वय समितिका प्रमुख सुमनकुमार लाल कर्ण भन्छन्, 'समयमै गरिने पूर्वतयारीले क्षति रोक्न सकिन्छ।' यसको पहलकदमी स्थानीय तह र जिल्लास्थित विपद् व्यवस्थापन समितिले थाल्नुपर्ने उनको भनाइ छ। रासस