बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

आलितालको सौन्दर्यले बढ्दै पर्यटकको आकर्षण, प्रवर्द्धनको काम गरिँदै

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस ६ २०८२
आलितालको सौन्दर्यले बढ्दै पर्यटकको आकर्षण, प्रवर्द्धनको काम गरिँदै

डडेल्धुरा- पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ। यसका  लागि आलिताल गाउँपालिकाले आलिताल-३ स्थित तालको संरक्षणका लागि कार्ययोजना बनाएको छ।  

गाउँपालिकाको नामकरण नै यही तालको नामबाट भएको  छ। आलितालमा पर्यटक भित्र्याउने उद्देश्यले राष्ट्रपति चुरे तराई-मधेश संरक्षण समिति र आलिताल गाउँपालिकाले भौतिक पूर्वाधार विकासको पहल गरिरहेका छन्।

आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्कीका अनुसार चालु आर्थिक वर्षमा ताल क्षेत्रको पुनर्निर्माण र थप संरचना विकासका लागि गाउँपालिकाले ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। गत वर्ष २५ लाख रुपैयाँको लागतमा समैजीको मन्दिर निर्माण सम्पन्न भइसकेको र हाल शुभारम्भको तयारी भइरहेको उनले बताए। 

स्काई ब्रिजलाई पनि धार्मिक आस्थासँगै जोडेर विकास गरिएको उनको भनाइ छ। ताल क्षेत्रमा 'भ्यूटावर' निर्माण गरिएको छ। गाउँपालिकाको केन्द्रदेखि तालसम्म जोड्ने पर्यटकीय सडक पनि विस्तार भइसकेको छ। आलिताल आफैमा प्राकृतिक सौन्दर्यले भरिएको ताल हो र यसले पालिकाको पहिचान बोकेको छ। पछिल्लो समय अन्य पालिकाबाट समेत पर्यटक आउन थालेको बताउँदै ताल अझै विकासकै चरणमा रहेको पार्कीले बताए।

गाउँपालिकाका प्राविधिक अशोक जोशीका अनुसार गाउँपालिकाको समन्वयमा उक्त बजेटबाट धार्मिक आस्थासँग जोडिएको स्काई ब्रिजमा मन्दिर निर्माण, पानीको निकास व्यवस्थापनका लागि आरसीसी पर्खाल, व्यवस्थित पार्क निर्माण र ताल क्षेत्रको सौन्दर्य अभिवृद्धि गर्ने काम अघि बढाइनेछ। साथै तालभन्दा करिब ५०० मिटर टाढा व्यवस्थित गाडी पार्किङस्थल निर्माण गर्ने र सोही स्थानमा वनभोजस्थल स्थापना गर्ने योजना रहेको पनि उनले बताए।

तालको अवलोकन गर्न आउने पर्यटकका लागि चारवटा डुंगा निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष हरिलाल थापाले बताए। गाउँपालिकाले अन्य सम्भावित पर्यटकीय स्थलको विस्तृत वृत्तचित्र र ब्रोसर तयार गरी प्रचारप्रसार पनि गरिरहेको छ। अहिले दैनिक एक सयको हाराहारीमा पर्यटक आउने गरेको आलिताल-३ का स्थानीय प्रवीण मगरले बताए।

महाभारत पर्वत शृंखलाको फेदमा सो ताल अवस्थित छ। धार्मिक महत्त्व बोकेको आलितालको लम्बाइ एक हजार १७५ मिटर तथा चौडाइ करिब ४०० मिटर छ। यो तालको गहिराइ २२ मिटर छ। प्राकृतिक संरचना, हरियाली वन र हरियाली डाँडाले घेरिएको भूबनोटले आलिताललाई सुन्दर बनाएको छ। यो ताल बुडर (डोटी)-जोगबुढा (डडेल्धुरा) सडकमा पर्ने घुम्टीबजारबाट तीन किलोमिटरको दूरीमा छ।

आलितालको उत्पत्तिबारे रोचक कथा प्रचलित छन्। स्थानीय जनश्रुतिअनुसार आजको ताल रहेको ठाउँ पहिले ठूलो खेत थियो, जहाँ असारमा धान रोपाइँ हुने गर्दथ्यो। किंवदन्तीअनुसार रोपाइँको अघिल्लो दिन एक महिलाले सपना देखिन्। सपनामा उनलाई चेतावनी दिइएको थियो- 'भोलि खेतमा रोपाइँ गर्दा अनिष्ट हुनेछ, खेतमा नजानू।' 

उनले यो कुरा आफ्ना परिवार र गाउँलेसँग भनिन्। तर उनको भनाइलाई कसैले विश्वास गरेनन्। अर्को दिन हलगोरु र अन्य किसानसँग मिलेर खेतमा धान रोपाइँ गर्न गए।

रोपाइँका क्रममा अचानक ठूलो वर्षा सुरु भयो। खेतमा विशाल राँगो र नाग प्रकट भए। पानीले खेत डुबायो। यसै घटनाले गर्दा उक्त स्थानमा पानी भरिन थाल्यो र विशाल ताल बनेको जनश्रुति छ। त्यसैले स्थानीयहरूले यो ताललाई 'आलिताल' भनेर चिनाउन थालेका हुन्।

रोपाइँ गर्नेहरू सबै डुबेर मरे। एक जना महिला मात्र खाना बनाइरहेकी थिइन्, उनी जीवित रहिन्। पछि शिव भगवानले उनलाई दर्शन दिएर देवी बनाई तालमा बसाइदिएको जनविश्वास छ। खेत (आली) भएको ठाउँमा ताल बनेकाले यसको नाम आलिताल रहन गएको बताइन्छ। माधवी भट्ट/रासस


प्रकाशित : आइतबार, पुस ६ २०८२११:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend