म्याग्दी- चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सडक स्तरोन्नति सकिएको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ भुरुङ तातोपानीको नागढुंगादेखि मुस्ताङको थासाङ गाउँपालिका-४ घाँसाको कैह्कुखोला खण्डको सडकलाई ११ मिटर फराकिलो बनाएर दुई लेन कालोपत्रे र ढलान गर्न आर्थिक वर्ष २०७३/७४ देखि योजना सुरु भएको थियो। शर्मा-गजुरमुखी जेभीले 'भेरियशन अर्डर' सहित ६३ करोड रुपैयाँमा ठेक्का लिएको तातोपानी-घाँसा खण्डको १६ किलोमिटर ५०० मिटर सडकमध्ये पहिरो प्रभावित तीन किलोमिटर ३०० मिटरबाहेकको ठाउँमा कालोपत्रे र ढलान गर्ने काम सकिएको हो।
जेभीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले दुई किलोमिटर ५०० मिटर ढलान र १० किलोमिटर ७०० मिटरमा डीबीएसडी प्रविधिको कालोपत्रे भएको जानकारी दिए।
'प्रतिकूल भूगोल, कोरोना महामारी, बाढी-पहिरो, नदीजन्य निर्माण सामग्री अभावलगायत कारणले योजना निर्माणमा ढिलाइ भएको हो,' उनले भने, 'स्तरोन्नति सकिएको सडकलाई औपचारिक रूपमा सडक आयोजना कार्यालयलाई हस्तान्तरणको प्रक्रियामा छाैँ।'
लक्ष्यभन्दा पाँच वर्ष ढिला गरी यो सडक स्तरोन्नतिको काम सम्पन्न भएको हो। गजुरमुखी निर्माण सेवा आन्तरिक समस्यामा परेपछि साझेदार शर्माले अधुरो कामलाई पूर्णता दिएको हो। पहिरो प्रभावित गुइँठे, खामभित्ता, दुवारीखोला, लाटोखोला, रुप्से, घोप्टेभिर, ठाडोखोला खण्डमा आयोजनाले नयाँ ठेक्कामार्फत काम सुरु गरेको छ।
कडा चट्टान र साँघुरो सडक भएको काभ्रेभिर, बादरजुङ र घोप्टेभिर क्षेत्रमा 'रक एंकरिङ' गरेर सडक फराकिलो बनाइएको छ। नागढुंगा, जलथले, गुइँठे, सुकेबगर, दाना, तितर, काभ्रे र घाँसा क्षेत्रमा कालोपत्रे भएको छ।
सडक कालोपत्रे भएपछि दुई घण्टाको यात्रा अवधि ३० मिनेटमा छोटिएको अन्नपूर्ण गाउँपालिका-३ का वडाध्यक्ष रमेश पुर्जाले बताए। यो खण्डको धेरै दूरी अन्नपूर्ण गाउँपालिका-३ को भूगोलमा पर्छ। मुस्ताङ आवतजावत गर्ने पर्यटक, तीर्थयात्री, स्थानीयवासीका साथै कोरला नाकाबाट सामान आयात-निर्यात गर्ने मालवाहक सवारीसाधनलाई सहज भएको छ।
सडक सहज भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको वडाध्यक्ष पुर्जाले बताए। शर्मा-गजुरमुखीले बेनी-जोमसोम कोरला सडकको दोस्रो (तातोपानी-घाँसा) र तेस्रो घाँसा कैह्कुखोला-खन्ती खण्डमा स्तरोन्नतिको जिम्मा लिएको थियो। १६ किलोमिटर दूरीको कैह्कुखोला-खन्ती खण्डको दुई वर्षअघि नै स्तरोन्नति सकेर हस्तान्तरण गरेको थियो।
भारत र चीनलाई जोड्ने ४३५ किलोमिटर दूरीको कालीगण्डकी करिडोर सडकलाई गण्डकी प्रदेशको लाइफ लाइन (भाग्यरेखा) मानिएको छ। १० अर्ब ५७ करोड रुपैयाँ अनुमानित लागत रहेको २०२ किलोमिटर दूरीको बेनी-जोमसोम-कोरला सडक योजनाअन्तर्गत ९४ किलोमिटर ग्राभेल, ८८ किलोमिटर कालोपत्रे र १४ वटा सडक पुल निर्माण सकिएको छ।
आयोजना प्रमुख तेजस्वी शर्माले १० अर्ब ५७ करोड रुपैयाँ रहेका आयोजनामा ८२ प्रतिशत अर्थात् आठ अर्ब २० करोड रुपैयाँ खर्च भइसकेको बताए। रासस
