मोरङ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले खस्किँदै गएको मुलुकको आर्थिक अवस्थालाई सुधार्न सबै उद्यमी-व्यवसायी लाग्नुपर्ने बताएका छन्।
तेरापन्थ महिला मण्डलद्वारा आज विराटनगरमा आयोजित घरेलु प्रदर्शनीको उद्घाटन गर्दै उनले मुलुकको आर्थिक अवस्थालाई माथि उठाउन राज्य तथा सबै उद्यमी-व्यवसायी काँधमा काँध मिलाएर अघि बढ्नुपर्नेमा जोड दिएका हुन्। सरकारले मुलुकमा भ्रष्टाचारको अन्त्य र सुशासनमा जोड दिनुपर्ने सुझाव उनले दिए।
उनले नेपाल र नेपालीको आयस्तर वृद्धिका लागि सरकारले धार्मिक, साहसिक पर्यटन, सूचना प्रविधि, कृषिको आधुनिकीकरण र स्वास्थ्य क्षेत्रमा विशेष खुकुलो नीति ल्याउनुपर्नेमा जोड दिए।
मण्डलकी अध्यक्ष मिलन नौलखाले महिला श्रमिकले देशको आर्थिक विकासमा योगदान गरेको बताइन् ।
एकदिने प्रदर्शनीमा ३२ कक्षमा घरेलु उत्पादन राखिएका छन्। रासस