मंगलबार, असार १६ गते २०८३    
मंगलबार, असार १६ २०८३

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, पुस ५ २०८२
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब १६ लाख मानिस गम्भीर खाद्य अभाव र कुपोषणको उच्च जोखिममा रहेको चेतावनी दिएका छन्।

काठमाडौं- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब १६ लाख मानिस गम्भीर खाद्य अभाव र कुपोषणको उच्च जोखिममा रहेको चेतावनी दिएका छन्। 

उनले शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, 'हालको परिस्थितिमा अकाल केही हदसम्म टालिएको छ र धेरै मानिसहरूले जीवित रहन आवश्यक खाना प्राप्त गर्न सक्षम भएका छन्।'

संयुक्त राष्ट्र र उसका साझेदार संस्थाहरूले दैनिक रूपमा लाखौँ मानिसलाई गाजामा खाद्य सहायता वितरण गरिरहेका छन्।

महासचिव गुटेरेसले भने, 'स्वच्छ पानी थप समुदायसम्म पुग्न थालेको छ, केही स्वास्थ्य सेवा केन्द्रहरू पुनः सञ्चालनमा आएका छन्।' 

उनले यस सुधारको श्रेय मानवीय कामदार, सदस्य राष्ट्र र नागरिक-सैन्य समन्वय केन्द्रबीचको सहकार्यलाई दिए। तर, उनले यी उपलब्धिहरू अझै नाजुक र जोखिमपूर्ण अवस्थामा रहेको उल्लेख गरे।

गुटेरेसका अनुसार अक्टोबरदेखि संयुक्त राष्ट्रले सेवा निरन्तर सञ्चालनमा राख्ने प्रयास गरिरहेको छ, तर आवश्यकताहरूको वृद्धि सहयोगको क्षमताभन्दा छिटो भइरहेको छ। उनलेले दीर्घकालीन युद्धविराम आवश्यक भएको र थप प्रवेश नाका खोल्ने, अत्यावश्यक सामग्रीमाथि लगाइएको प्रतिबन्ध हटाउने, प्रशासनिक झन्झट कम गर्ने, गाजाभित्र सुरक्षित आवागमन सुनिश्चित गर्ने, दिगो वित्तीय सहयोग सुनिश्चित गर्ने र अवरोधरहित मानवीय पहुँच प्रदान गर्ने कार्य आवश्यक भएको औँल्याए।

त्यसैगरी उनले पश्चिमी किनारामा पनि अवस्था संवेदनशील रहेको र त्यहाँ प्यालेस्टिनीहरूले बढ्दो हिंसा, जमिन कब्जा, घर भत्काइ र कडा आवागमन प्रतिबन्धको सामना गरिरहेको बताए। उनले कब्जामा रहेका प्यालेस्टिनी भूभाग, पूर्वी यरुशलेमसहित, अन्तर्राष्ट्रिय कानून, मानवीय कानून र मानवअधिकार कानूनको पूर्ण पालना हुनुपर्नेमा जोड दिए।

महासचिव गुटेरेसले अन्तर्राष्ट्रिय न्यायालयको सन् २०२५, अक्टोबर २२ को सल्लाहात्मक मतको स्मरण गर्दै भने, 'इजरायलले मानवीय सहायता सहज रूपमा प्रवेश गराउने, संयुक्त राष्ट्रसँग सहकार्य गर्ने र सशस्त्र द्वन्द्वको अवस्थामा समेत संयुक्त राष्ट्र र उसका कर्मचारीको अधिकार र सुरक्षाको सम्मान गर्नुपर्छ। यी दायित्वहरू बाध्यकारी छन् र तुरुन्त कार्यान्वयन हुनुपर्छ। यो संकट मानवीय निर्णयबाट उत्पन्न भएको हो र राजनीतिक इच्छाशक्ति भएमा यसको समाधान सम्भव छ।' रासस


प्रकाशित : शनिबार, पुस ५ २०८२१३:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend