तनहुँ- तनहुँ जलविद्युत आयोजनाबाट प्रभावित व्यास नगरपालिका-१३ बेलवासका स्थानीयले मुआब्जा माग गरेका छन्।
आयोजनाका कारण व्यास नगरपालिका-१३ स्थित बेलवास संकटमा परेको दाबी गर्दै त्यसको उचित क्षतिपूर्ति र मुआब्जा उपलब्ध गराउन उनीहरूले माग गरेका हुन्।
ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको आयोजनाबाट प्रभावित हुने भएपछि बेलवासका स्थानीय आन्दोलित छन्।
तनहुँ जलविद्युत आयोजनाका कारण बेलवास डुबानमा पर्ने भएकाले उचित मुआब्जा दिनुपर्ने सरोकार समितिका सदस्य मेघनाथ आचार्यको भनाइ छ। एसियाली विकास बैंकको विस्तृत अध्ययन प्रतिवेदनमा आयोजना सञ्चालनमा आएपछि बेलबास डुबानको जोखिम औँल्याइएको छ।
आयोजनाको कार्यालय सुरक्षाका लागि बनाइएको तटबन्धका कारण सेती नदीको धार बेलवासतर्फ सोझिएका कारण बेलवासको बस्ती उच्च जोखिममा पर्ने औँल्याइएको छ। भविष्यमा सेती नदीमा आउने बाढीले बेलवास बगाउने सम्भावना भएका कारण बेलवासको सम्पूर्ण बस्तीलाई अन्यत्र सार्नुपर्ने हुँदा त्यहाँका बासिन्दालाई उचित मुआब्जा दिनुपर्ने उनको भनाइ छ।
केही दिनअघि तनहुँ आएका ऊर्जा तथा जलस्रोतमन्त्री कुलमान घिसिङसमक्ष सरोकार समितिका संयोजक यामबहादुर आलेले बेलवासको बस्ती जोखिममा पर्ने बारेमा ध्यानाकर्षण गराएका थिए। आलेले आयोजनाबाट १ सय ७० घरधुरी प्रभावित हुने जानकारी दिए। रासस
