म्याग्दी- नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको निर्माणको ९० प्रतिशत भौतिक प्रगति भएको छ।
सुरुङ, बाँध र विद्युतगृहको भौतिक संरचना निर्माण, उपकरण जडान अन्तिम चरणमा पुुगेको आयोजनाको विद्युत केन्द्रीय ग्रिडमा जोड्ने स्विचयार्ड निर्माणको तयारी भइरहेको छ। रघुुगंगा हाइड्रोपावरका आयोजना व्यवस्थापक राज विष्टले अबको तीन महिना (मार्च) मा परीक्षण उत्पादन सुरु गर्ने लक्ष्यसहित निर्माण भएका संरचनालाई पूर्णता दिन लागिएको जानकारी दिए।
'सिभिल, हाइड्रो र इलेक्ट्रोमेकानिकलका कामलाई बिट मार्दै लगिएको छ,' उनले भने, '२० मेगावाटको टर्वाइन जडान गरेर ड्राई टेस्टिङ गर्न तयार पारेका छौँ। मार्च महिनाभित्र परीक्षण उत्पादन सुरु गर्ने लक्ष्यसहित ठेकेदार परिचालन भएको छ।'
भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी) ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित २०१७ नोभेम्बर १७ (२०७४ मंसिर ६ गते) ६ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। सन् २०२२ फेब्रुअरीमा पहिलो, सन् २०२२ फेब्रुअरीमा दोस्रो र २०२५ नोभेम्बरसम्मका लागि तेस्रोपटक म्याद थपिएको थियो। चौथोपटक मार्च महिनासम्मका लागि म्याद थप भएको छ।
रघुगंगा गाउँपालिका-४ दग्नाम र वडा नं. ५ झीँको फेदीमा बाँध, ६ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ र तिल्केनीचौरमा विद्युतगृह निर्माणको काम ९० प्रतिशतभन्दा बढी सकिएको छ।
कोरोना महामारी, बाढी, पहिरोजस्ता प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावका कारण आयोजना निर्माणमा ढिलाइ भएको ठेकेदार कम्पनी जेपीका आयोजना व्यवस्थापक हरिश अग्रवालले बताए।
भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग वि.सं. २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा भएको इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौताको म्याद यही डिसेम्बर ३१ मा सकिँदै छ्। भेलले अधिकांश उपकरण आयात सकेर जडानको काम गरिरहेको छ।
भारतीय आयात-निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्र्याक्ट (ईपीसी) प्रारूपमा राहुघाट जलबिविद्युत आयोजना सञ्चालन गरिएको हो।
कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आईभीआरसीएलसँगको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएको थियो। पछिल्लोपटक छनोट भएको सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्स (जेपी) ले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो।
यस आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत खरिद-बिक्री सम्झौता (पीपीए) गरेको थियो। राहुघाटबाट उत्पादन हुने विद्युत केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना-कुश्मा प्रसारण लाइनमा लिलो माध्यमबाट जोडिनेछ। चारवटा टावर र प्रसारण लाइन पनि बनिसकेको छ। रासस
