जापान- जापानको केन्द्रीय बैंक (बैंक अफ जापान - बीओजे) ले बढ्दो मूल्यवृद्धि नियन्त्रण गर्न भन्दै ३० वर्षपछि आफ्नो अल्पकालीन नीतिगत दर ०.२५ प्रतिशतले बढाएर ०.७५ प्रतिशत पुर्याएको छ। बैंक अफ जापानको उक्त निर्णयसँगै त्यहाँका प्रमुख ठूला बैंकहरूले पनि निक्षेपको ब्याजदर बढाउने निर्णय गरेका छन्।
जापानका प्रमुख चार बैंकहरू एमयूएफजी, सुमितोमो मिचुई कर्पोरेसन (एसएमबीसी),मिजुहो र सुमितोमो मित्सुई ट्रस्ट बैंकले वार्षिक ब्याजदर बढाउने निर्णय गरेका हुन्। आगामी वर्षको फेब्रुअरी २ बाट कार्यान्वयनमा आउने गरी बैंकहरूले वार्षिक रूपमा निक्षेपको ब्याजदर ०.२० प्रतिशतबाट बढाएर ०.३० प्रतिशत पुर्याउने भएका हुन्।
निक्षेपको ब्याजदर बढेसँगै एमयूएफजी र मिजुहो बैंकले अल्पकालीन प्राइम लेन्डिङ रेट १.८७५ प्रतिशतबाट बढाएर २.१२५ प्रतिशत पुर्याएका छन्। यी बैंकहरूको उक्त निर्णयसँगै जापानको घरजग्गा कर्जामा असर पर्ने अनुमान गरिएको छ।
बैंक अफ जापानले बढ्दो मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर बढाउने निर्णय गरेको जनाएको छ। महँगी नियन्त्रण गर्न भन्दै जापान सरकारले जनताहरूलाई राहत प्याकेजको रूपमा प्रत्यक्ष रूपमा नगद हस्तान्तरण गर्दै आएको छ। अर्थतन्त्रमा ब्याजदरमार्फत महँगी नियन्त्रण नगरिएको भन्दै जापानका स्थानीय सरकारहरूले नै विरोध गरेपछि बैंक अफ जापानले पछिल्लो समय आफ्नो अल्पकालीन नीतिगत दर बढाउने निर्णय लिँदै आएको छ।
केही समयअगाडि चामलको मूल्य बढेको भन्दै जापान सरकारले वितरण गर्ने भनेको राइसकुपन वितरण गर्न जापानका प्रमुख सहरका नगर प्रमुखहरूले विरोध जनाएपछि जापानको केन्द्रीय बैंकले ब्याजदर बढाउने नीति अघि सारेको हो। बैंक अफ जापानले ब्याजदर बढाउँछ वा बढाउँदैन भन्ने अन्योलका बीच शुक्रबार थप ०.२५ प्रतिशतले बढाउने निर्णय गरेको छ। यसको सकारात्मक प्रभाव जापानी अर्थतन्त्रमा देखिएमा थप ब्याजदर बढ्न सक्ने संकेत जापानको केन्द्रीय बैंकले गरेको छ।
जापानको सेयर बजार र घट्दो जापानिज येनमा यसको सकारात्मक प्रभाव पर्ने र विदेशी आप्रवासीलाई समेत राहत पुग्ने अनुमान गरिएको छ।
जनवरीयता पहिलोपटक गरिएको ब्याजदर वृद्धिको निर्णयसँगै जापानी अर्थतन्त्रमा क्रमिक सुधारका संकेत देखिएको बैंकले जनाएको छ।
बैंक अफ जापानले जारी गरेको प्रतिवेदनमा जापानको अर्थतन्त्र मध्यम रूपमा पुनरुत्थान हुँदै गएको उल्लेख गरिएको छ। प्रतिवेदनमा अमेरिकी अर्थतन्त्र र विभिन्न मुलुकका व्यापार नीतिका असरबारे अझै अनिश्चितता रहे पनि ती जोखिम घट्दै गएको उल्लेख छ।
यसैबीच नोभेम्बर महिनाको कोर उपभोक्ता मूल्य सूचकांक (ताजा खाद्य वस्तुबाहेक) ३ प्रतिशतमै स्थिर रहेको सरकारी तथ्यांकले देखाएको छ। यो दर बीओजेले लक्ष्य राखेको २ प्रतिशतभन्दा लामो समयदेखि माथि रहँदै आएको छ।